काठमाडौं- गर्मीयाम र वर्षातको समय सुरुभएसँगै नेपालमा सर्पदंशका घट्नामा पनि वृद्दि हुने सम्भावना हुन्छ ।
पहाडी क्षेत्रका तुलनामा तराईका ग्रामीण भेगमा सर्पदंशका घटना बढी हुने गर्छ । तराईमा गर्मी बढेसँगै सर्पहरु माटोभित्र बस्ने गर्छन् । तर जब बर्षायाम सुरु हुन्छ, जतातँतै पानी भरिन थालेपछि बिषालु सर्प खुल्ला ठाउँमा देखिन्छन् । सबै सर्प भने बिषालु हुँदैनन् । यसरी खुल्ला ठाउँमा देखिएका सर्पलाई कतिपय व्यक्तिले चोट पु्र्याउने, मार्ने जस्ता कार्य गर्छन् ।
तराईमा क्षेत्रमा अधिकांश व्यक्तिले खेती किसान गर्छन् । मानिसहरु घाँस, दाउरा, गाईवस्तु चराउन दैनिकजसो जंगल गइरहन्छन् । यस्तो बेला व्यक्ति र सर्पको भेट कतिखेर हुनसक्छ पत्तै हुँदैन । तराईमा धेरै घरधुरी सिमेन्टले बनेका भएकापनि कतिपयका घर भने माटोले बनेका हुन्छन् । सिमेन्टले बनेको घरमाभन्दा माटोको घरमा सर्प पस्न सक्ने सम्भावना बढी हुन्छ ।
अर्कोतिर राति सुतिराखेको ठाउँमा पनि सर्पले टोक्न सक्छन् । निदाएको बेला हातखुट्टा चलाउँदा छोइएर सर्पलाई चोट लाग्यो भने सर्पले डस्ने सम्भावना बढी हुन्छ । रातिमा सर्पले डसेर घाइते वा व्यक्तिको मृत्यु भएको समाचार बेलाबखत सुनिन्छन् । गाउँघरमा सर्पले डस्ने बित्तिकै स्वास्थ्य चौकी पुर्याउन नसक्दा कतिपय व्यक्तिले मृत्युवरण गर्नुपर्ने बाध्यता हुन्छ ।
नेपालमा सर्पदंशको जोखिम बढी
सर्पदंशका दृष्टिले नेपाल निकै जोखिमपूर्ण क्षेत्र मानिन्छ । नेपाल, भारत, अफ्रिका, मलेशिया आदि बढी सर्प प्रभावित राष्ट्र हुन् । नेपालको हावापानी सर्प बस्नको लागि उचित मानिन्छ । नेपालको हावापानी बढी गर्मी र बढी जाडो पनि नहुने भएकोले सर्पलाई उपयुक्त हुने विज्ञहरूको भनाइ छ । सर्पले २३ डिग्रीदेखि ३७ डिग्री सेन्टीग्रेड तापक्रम मात्र सहन्छ जुन नेपालमा उपलब्ध छ । त्यसैगरी मनसुन हुनु वा गर्मी मौसममा पानी पर्नुले पनि सर्पलाई अनुकूल बनाइदिएको छ । अर्कोतिर नेपालमा कृषि धेरै हुन्छ । खेत, बारी सर्पका लागि उपयुक्त बासस्थान हो । बाली खान आउने कीरा र मुसा , कीरा खान आउने छेपारा यिनका मुख्य भोजन हुन् । त्यसैले सर्प बाहिर नदेखिएर माटोभित्र पसेका हुन्छन् ।
कुन समयमा जोखिम बढी ?
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङक हेर्दा नेपालमा चैतदेखि कार्तिकसम्म सर्पदंशका घटना बढी हुने गरेको देखिन्छ । अन्य महिनामा यस्ता घटना केही कम मात्रामा हुन्छन् । नेपालमा प्रायः गर्मीयाम र असार, साउनमा सर्पदंशका घट्ना बढि हुने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पातल क्लिनिकल अनुसन्धान एकाइका प्रमुख डा.शेरबहादुर पुनले जानकारी दिए ।
उनकाअनुसार यो समयमा पानी अत्यधिक पर्ने भएकाले शितल खोज्न माटोमुनि बसेका सर्प एक्कासी सुख्खा ठाँउको खोजीमा बाहिरतिर निस्कन्छन् । यो बेलामा किसानी गर्ने व्यक्तिहरु पनि खेतबारीमा काम गर्न जान्छन् । यो बेला सर्पदंशका घट्ना हुने सम्भावना बढि हुन्छ ।
सावधानी
विशेषगरि गर्मी तथा बर्षातको समयमा सावधानी अपनाउन डा.पुन सुझाउँछन् । ‘गर्मी महिना हो ’ उनले भने, ‘पहाडतिर खेतबारी, ट्वाइलेट जाँदा खाली खुट्टा वा चप्पल लगाएर जानु हुँदैन । तराईतिर झूल, खेतबारी, बेड तथा कम्मलमा हुनसक्छन् । त्यसैले सुत्नेबेला देखि लिएर कतै जान परे सर्पबारे सर्तक रहनुपर्छ । कतै जानुपरे जुत्ता लगाएर जानुपर्छ ।’
सर्पले टोकेपछि के गर्नु हुँदैन ?
सर्पले टोकेको भागमा ढुङ्गाले घोट्ने, ब्लेड तथा धरिलो हतियारले काट्नु हुँदैन । यस्तो गरेमा टिट्नास हुने खतरा हुन्छ र जोखिम बढ्छ । सर्पले टोकेपछि कपडा, डोरी र रबरले कसिलोगरि बाँध्न हुँदैन । कसिलो गरि बाँध्दा रक्तसञ्चार राम्रोसँग हुन पाउँदैन । जसकारणले सर्पले टोकेको भागको रक्तकोषिका मर्नसक्छ । यस्तो भएमा अंग नै काट्नुपर्ने अवस्था आउनसक्छ । सर्पले टोकेको ठाउँमा चुस्ने र कुखुरालाई विष थुताउने गर्नुहुँदैन । यस्तो गरेमा बिरामीको मृत्यु समेत हुनसक्छ । सर्पले टोकेका बिरामीलाई कुन ठाउँ लैजाने भन्ने ज्ञान हुनुपर्छ । बिरामीलाई यताउता लैजाँदा धेरै समय खेर जान्छ, जसकारणले पूरै शरीरमा विष फैलिएर खतरा बढ्छ । त्यसैले सर्पदंशको उपचार हुने अस्पतालको हेक्का राखि रहँनुपर्छ ।
के गर्ने ?
सर्पले टोकेको घाउभन्दामाथि कपडाले वा कुनै ब्यान्डेजले हल्का बाँध्नुपर्छ । यसले अत्यधिक रगत बग्नबाट बचाउँछ । सर्पले टोके व्यक्तिले कसिलो कपडा लगाएको छ भने खोलिदिनु पर्छ । सर्पदंशको उपचार हुने अस्पतालको जानकारी राख्नुपर्छ । सर्पले टोकेमा बिरामीलाई जतिसक्दो चाँडो अस्पताल लैजाने व्यवस्था मिलाउनु पर्छ ।