काठमाडौं- रौतहटको मुख्य नाका गौर बैरगनिया मितेरी पुलमा भारतीय एसएसबीले एक नेपाली युवकलाई कुटपिट गरेपछि सोमबार दिनभर नै तनावग्रस्त बनेको छ । गौरबाट सीमापारी बैरगनिया जान लागेका गौर नगरपालिका ५ का गौतम दुलाललाई भारतीय एसएसबीले कुटपिट गरेपछि स्थिती तनावग्रस्त बनेको हो ।
कारोना महामारीका कारण विगत डेढ वर्षदेखि बन्द रहेको गौर बैरगनिया मुख्य सडक बाढीकारण विगत तीन दिनदेखि पैदल आवतजावत गर्न सुचारु भएपनि सोमबार बिहानैदेखि भारतीय एसएसबीले बन्द गरेको स्थानीयले बताएका छन् ।
कोरोनाकालदेखि नै गौर बैरगनिया नाका ठप्प रहेपनी सर्वसाधारणहरु चोर बाटो भएर आवतजावत गर्ने गरेका थिए, तर वर्षा र बाढीका कारण छेउछाउमा पानी जमे पछी बाध्यताले मुख्य बाटो रोज्न भारतीय एसएसबीलाई दबाब दिएपछि तीन दिन अघि पैदल आवतजावत गर्न खुल्ला गरिएको थियो ।
सीमा क्षेत्रमा भारतीय क्षेत्रमा समेत एसएसबीले सोझै बाटो प्रयोग नगरी सर्वसाधारणहरुलाई तल्लो भागबाट आवतजावत गर्न लगाएका थिए । तर सोही क्रममा किनमेलका लागि भारत जान लागेका नेपाली युवकलाई भारतीय एसएसबीले कुटपिट गरेको आरोप स्थानीयहरुको रहेको छ ।