जुम्लाबाट ६२ पत्रकारले लिए प्रेसपास-Sutra News

जुम्लाबाट ६२ पत्रकारले लिए प्रेसपास

मंगलबार, २२ असार २०७८

मंगलबार, २२ असार २०७८

सूचना तथा प्रसारण विभागले जुम्लामा आयोजना गरेको प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण घुम्ती शिविर कार्यक्रमबाट ६२ पत्रकारले प्रेसपास लिएका छन् ।



सो शिविरमार्फत प्रेसपास वितरण, अनलाइन दर्ता, नवीकरण, पत्रिकाको स्थायी दर्ता जुम्लामै पुगेर गरिएको थियो । नेपाल पत्रकार महासङ्घ शाखा जुम्लाको आयोजना र विभागको सहयोगमा तीनदिने घुम्ती शिविर चलेको थियो ।

शिविरमा ५ वर्षदेखि अस्थायी रुपमा दर्ता भई नियमित सञ्चालन भइरहेको कर्णाली पोष्ट दैनिक पत्रिकाको स्थायी दर्ता भएकोे छ ।

प्रेसपास ल्याउने, नवीकरण गर्ने तथा पत्रपत्रिका र अनलाइन दर्ता नवीकरण गर्नका लागि काठमाडौँ धाउनुपर्ने दुर्गमका पत्रकारहरुको समस्यालाई दृष्टिगत गर्दै विभागको टोली जुम्लामै पुगेर सेवा दिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनले भने, “प्रेस पास लिन काठमाडौँ जाने बाध्यता हटेको छ । जिल्लाका पत्रकारलाई निकै राहत मिलेको छ ।” पछिल्लो समय विभागले आफ्ना सेवाहरु दुर्गम केन्द्रित गरेको महानिर्देशक हमालले बताए ।

 दुर्गमका पत्रकारहरुको सजिलोका लागि जिल्लामै शिविर सञ्चालन गरेको विभाग अनलाइन दर्ता शाखाका प्रमुख केशवराज शर्माले बताए ।

प्रेस पास लिनकै लागि महँगो खर्च गरेर काठमाडौँ जानुपर्ने अवस्थाको अन्त्य भएको पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले बताए ।

 “काठमाडौँ पुगेर प्रेस पास लिन आर्थिक तथा भौगोलिक दूरीले समस्या हुन्थ्यो । विभागको टोली जिल्लामै पुग्दा यहाँका पत्रकारलाई निकै राहत भएको छ”, अध्यक्ष शाहीले भने।

यसअघि विभागको टोलीले हुम्लामा प्रेसपास वितरणदेखि अनलाइन दर्ता शिविर सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट