प्राधिकरणका निर्देशकलाई प्रश्न – विदेशबाट ल्याइएका मोबाइल दर्ता गर्न कति शुल्क लाग्छ ?-Sutra News

प्राधिकरणका निर्देशकलाई प्रश्न – विदेशबाट ल्याइएका मोबाइल दर्ता गर्न कति शुल्क लाग्छ ?

मंगलबार, २२ असार २०७८

मंगलबार, २२ असार २०७८

नेपाल दूरसञ्चार प्राधिकरणले साउन १ गतेपछि विदेशबाट ल्याइएका मोबाइलहरू अनिवार्य दर्ता गर्नुपर्ने बताएपछि मोबाइल प्रयोगकर्ताहरूमा यसको चासो बढेको छ ।



कति पैसा लाग्ने, कहाँ दर्ता गर्ने, कति दिन लाग्छ जस्ता चासोहरू सामाजिक सञ्जालमा छरपस्ट देखिन्छन् । विदेशबाट उपहारको रूपमा ल्याइएका या अवैध रूपमा नेपाल भित्रिएका मोबाइलहरू नियमन गर्न यस्तो प्रावधान ल्याइएको प्राधिकरणको दाबी छ ।

साउन १ गतेदेखि अवैध रूपमा नेपाल ल्याइएका मोबाइलहरूको आईएमईआई नम्बर दर्ता नगरेसम्म नचल्ने भएकाले त्यसको दर्ता प्रक्रियाका बारेमा सूत्रन्यूजले दूरसञ्चार प्राधिकरणका निर्देश सन्तोष पौडेलसँग केही जिज्ञासा राखेको थियो ।

उनले व्यवसायीक र कानूनी रूपमा बजारमा पाइने मोबाइलहरू व्यवसायीहरूले नै दर्ता गर्ने भएकाले त्यसमा कुनै समस्या नरहेको तर उपहारबापत ल्याइएका फोनहरू र अवैध रूपमा भित्र्याइएका फोनका सन्दर्भमा मात्र नयाँ नियम लागू हुने बताए ।

१. दर्ता गर्न कति शुल्क लाग्छ ?

पौडेलले साउन १ गतेपछि गैर-व्यवसायीक रोपमा नेपाल भित्र्याइएका मोबाइलहरू दर्ता गर्न कुनै शुल्क नलाग्ने बताएका छन् । ‘दर्ता गर्न कुनै शुल्क लाग्दैन,’ पौडेलले भने ।

२. कहाँ गएर दर्ता गर्ने ?

पौडेल भन्छन् – ‘दूरसञ्चार प्राधिकरणको वेबसाइटमै दर्ता गर्न मिल्ने व्यवस्था छ । यसका लागि वेबसाइटको आईएमईआई रजिस्ट्रेसन भन्ने स्थानमा जानुपर्छ । त्यहाँ कहाँबाट ल्याइएको, कुन प्रयोजन जस्ता प्रश्नहरूको जवाफ दिएर फारम भरेपछि मोबाइल एक्टिभेट हुन्छ ।’

पौडेलले अहिले त्यो सफ्टवेयर माइग्रेट गर्ने प्रक्रियामा रहेकाले साउन १ गते अगावै दर्ता नहुन सक्ने जानकारी गराएका छन् ।

३. पहिल्यै ल्याएर चलाइएको मोबाइलमा के हुन्छ ?

पौडेलका अनुसार साउन १ गते पहिला नै ल्याएर दर्ता नभएका मोबाइलहरू बन्द भने हुँदैनन् । ‘साउन १ गतेभन्दा अगाडि नै प्रयोगमा आइरहेका मोबाइलको डाटा प्राधिकरणको प्रणालीमा बसिसकेको हुन्छ, त्यसैले समस्या पर्दैन,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट