ओलीले बिछ्याएको जालमा नफँस्नु होला – प्रचण्ड, फँस्ने कुरै छैन – माधव-Sutra News

ओलीले बिछ्याएको जालमा नफँस्नु होला – प्रचण्ड, फँस्ने कुरै छैन – माधव

मंगलबार, २२ असार २०७८

मंगलबार, २२ असार २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलवार बिहान जनकपुरबाट फर्केर सिधै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालनिवास कोटेश्वर पुगे ।



एमालेको एकताका लागि प्रयास गर्न भन्दै सिंहदरबारमा कार्यदलको बैठक बसिरहेका बेला प्रचण्ड कोटेश्वर छिर्नुलाई निकै अर्थपूर्ण हिसाबले हेरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बनेको गठबन्धनमा निरन्तर सामेल भएका नेता नेपाल एमालेको एकतासँगै ओलीसँग मिल्ने हो कि भन्ने त्रास प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई छ ।

मंगलवारको कोटेश्वर वार्तामा प्रचण्डले ओली धोका दिन माहिर खेलाडी भएको र कुनै पनि जालमा फँस्न नहुने धारणा राखेका थिए । करीब २ घण्टा भएको भेटवार्तामा नेपाल र प्रचण्डबीच एमालेको एकताका लागि बनेको कार्यदलका बारेमा छलफल भएको स्रोतको दाबी छ ।

कोटेश्वर भेटवार्तापछि नेता नेपालले आफूनिकट केही नेताहरूलाई फोन गरेर प्रचण्डसँग भएको कुराकानी ब्रिफिङ गरेका थिए । तीमध्ये एक नेताले सूत्रन्यूजसँग भने – ‘प्रचण्डले ओलीको जालमा नफँस्न सुझाव दिनुभएको रहेछ । जवाफमा नेता नेपालले ओलीलाई आफूले निकै अघिदेखि चिनेकाले उनको जालमा आफू फँस्ने कुरै नरहेको बताउनु भयो ।’

दुवै नेताबीच एमालेको एकता, सर्वोच्चको फैसला र त्यसपछिको राजनीतिक अवस्थाका बारेमा छलफल भएको थियो । एमाले विवाद समाधान गर्न गठित कार्यदलको औपचारिक बैठकमा ओली र नेपाल दुवैले एकताको सन्देश दिने गरी संयुक्त विज्ञप्ति जारी गर्नुपर्ने कुरा उठेको छ ।

प्रचण्डले संयुक्त विज्ञप्तिबारे नेता नेपालसँग जानकारी लिन खोजेका थिए । प्रचण्डले बाहिर संयुक्त विज्ञप्ति तयार भइसकेको समाचारका सन्दर्भमा केही जान्ने प्रयाससमेत गरेका थिए । तर नेता नेपालले संयुक्त विज्ञप्ति जारी गर्न निकै अघिदेखि दबाब आएको बताए ।

‘संयुक्त विज्ञप्तिको कुरा निकै अघिदेखि आएको हो,’ नेपालको भनाइ उदृत गर्दै स्रोतले सूत्रन्यूजसँग भन्यो, ‘सर्वोच्चको फैसलाअघि साथीहरूले (कार्यदल सदस्य) एकताका लागि प्रयास गरिराखौं न त भनिरहनु भएको छ । तर ओलीले प्रतिनिधि सभा विघटन गल्ती थियो भनेर सार्वजनिक रूपमै भन्नुपर्छ भन्ने मेरो अडान छ । संयुक्त विज्ञप्ति तयार भएको कुरा साँचो होइन ।’

सर्वोच्च अदालतले संसद पुनःस्थापना गरिदिने बुझाइ प्रचण्ड र नेपाल दुवैमा छ । फैसलापछिको राजनीतिक परिस्थितिमा पनि विपक्षी गठबन्धनलाई नै साथ दिने नेता नेपालले प्रतिबद्धता जनाएको प्रचण्डनिकट स्रोतको दाबी छ ।

प्रचण्ड कोटेश्वर छिर्नुअघि कांग्रेस सभापति शेरबहादुर देउवासँग फोनमा कुराकानी गरेका थिए । देउवाले ‘माधवको कुरा के हो, बुझ्नुपर्यो’ भनेपछि जनकपुरबाट आएका प्रचण्ड एयरपोर्टबाट सिधै कोटेश्वर निस्केका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट