सकियो एमाले कार्यदल बैठक – छलफल सकारात्मक भएको नेता पन्तको दाबी-Sutra News

सकियो एमाले कार्यदल बैठक – छलफल सकारात्मक भएको नेता पन्तको दाबी

मंगलबार, २२ असार २०७८

मंगलबार, २२ असार २०७८

एमाले एकताका लागि गठित कार्यदलका सदस्य रघुजी पन्तले आज बसेको कार्यदल बैठक सकारात्मक भएको दाबी गरेका छन् ।



सिंहदरबारमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पन्तले भने, ‘छलफल सकारात्मक दिशातर्फ गइरहेको छ  । अहिलेसम्म निष्कर्ष निस्किएको छैन । हामी फेरि भोलि बैठक बस्छौं ।

नेता पन्तले आज बुँदागत रूपमा छलफल भएको बताए । तर कुन बुँदामा छलफल भयो, त्यो चाहिँ भनेनन् ।

‘हिजो बैठकमात्र बसेको थियो, आज केही विषयमा बुँदागत छलफल भयो । थप छलफल भोलि गर्छौं,’ नेता पन्तले भने ।

उनले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको संयुक्त वक्तव्यका विषयमा प्रवेश नै नगरेको बताए ।

‘संयुक्त वक्तव्यका विषयमा हामी प्रवेश गरेका छैनौ अहिलेसम्म,’ नेता पन्तले भने ।

एमालेमा विग्रह बढ्दै गएर फूटको संघारमा पुगेपछि गत जेठ २ गते अध्यक्ष ओली र नेता नेपालका ५/५ प्रतिनिधि सम्मिलित कार्यदल गठन गरिएको थियो ।

कार्यदलमा ओली समूहका तर्फबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेपाल समूहको तर्फबाट भीम रावलको नेतृत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र रघुजी पन्त रहेका छन् ।

बीचमा ओलीले कार्यदलका सदस्य रावललाई पार्टीबाट नै निष्कासन गर्ने गरी कारवाही गरेपछि कार्यदलको औचित्य समाप्त भएको थियो । तर कार्यदलका सदस्यहरू अनौपचारिक भेटवार्तामा भने थिए । 

पछिल्लो पटक सोमवार (हिजो) कार्यदललाई औपचारिक रूपमा ब्युँताइयो । हिजो र आज गरेर दुईपटक बैठक बसिसकेको छ तर ठोस निष्कर्ष भने निस्किएको छैन । 

आज कार्यदलको बैठक बसिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नेपालनिवास कोटेश्वर पुगेका थिए ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट