छलफलमा प्रगति भएको छ – गोकर्ण-Sutra News

छलफलमा प्रगति भएको छ – गोकर्ण

मंगलबार, २२ असार २०७८

मंगलबार, २२ असार २०७८

एमाले एकताका लागि गठित कार्यदलका सदस्य गोकर्ण बिष्टले छलफलमा प्रगति भएको जानकारी दिएका छन् ।



सिंहदरबारमा मंगलवार बसेको कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बिष्टले छलफलमा प्रगति भएको भएपनि टुंगोमा अझै नपुगेको बताए ।

‘सबै सदस्यहरूले आफ्ना महत्त्वपूर्ण सुझाव राख्नुभएको छ,’ बिष्टले भने, ‘कसरी टुंगोमा पुग्ने भन्ने सन्दर्भसहित हामी छलफलमा छौं ।’

उनले यसअघि रहेका विमतीका कुराहरूमा कहाँनेर असहमति छ र कसरी टुंगोमा पुग्ने भन्ने बारे कार्यदल सदस्यले आफ्नो कुरा राखेको बताए ।

एमालेमा विग्रह बढ्दै गएर फूटको संघारमा पुगेपछि गत जेठ २ गते अध्यक्ष ओली र नेता नेपालका ५/५ प्रतिनिधि सम्मिलित कार्यदल गठन गरिएको थियो ।

कार्यदलमा ओली समूहका तर्फबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेपाल समूहको तर्फबाट भीम रावलको नेतृत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र रघुजी पन्त रहेका छन् ।

बीचमा ओलीले कार्यदलका सदस्य रावललाई पार्टीबाट नै निष्कासन गर्ने गरी कारवाही गरेपछि कार्यदलको औचित्य समाप्त भएको थियो । तर कार्यदलका सदस्यहरू अनौपचारिक भेटवार्तामा भने थिए । 

पछिल्लो पटक सोमवार (हिजो) कार्यदललाई औपचारिक रूपमा ब्युँताइयो । हिजो र आज गरेर दुईपटक बैठक बसिसकेको छ तर ठोस निष्कर्ष भने निस्किएको छैन । 

आज कार्यदलको बैठक बसिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नेपालनिवास कोटेश्वर पुगेका थिए ।  

 

 

 

  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट