किन पटकपटक स्थगित हुन्छ प्रदेश २ को प्रदेशसभा बैठक ?-Sutra News

किन पटकपटक स्थगित हुन्छ प्रदेश २ को प्रदेशसभा बैठक ?

बुधबार, २३ असार २०७८

बुधबार, २३ असार २०७८

प्रदेश २ को प्रदेशसभा बैठक पुनः स्थगित भएको छ । प्रदेशसभामा प्रस्तुत बजेटमाथिको छलफलका लागि आज १ बजे बैठक आह्वान गरिएको थियो ।



 बैठक स्थगितसम्बन्धी प्रदेश सांसदलाई सन्देश पठाएर बैठक स्थगित भएको जानकारी गराइएको छ । योसहित दोस्रो पटक सूचना टाँसेर बैठक स्थगित गरिएको हो । यसअघि असार १५ गते बोलाइएको बैठक एक दिन अगाडि नै स्थगित भएको जानकारी गराउँदै असार २३ गतेका लागि समय निर्धारण गरिएको थियो ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जीत यादवले आज १ बजे बस्ने प्रदेशसभा बैठक यही असार २५ गते १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए । उनले प्रदेश सरकारको विकास निर्माण र अन्य खर्चको भुक्तानी असार २४ गतेसम्म मात्रै हुने भएकाले आज बस्ने बैठक स्थगित गरी २५ गते बोलाइएको बताए ।

उनले प्रदेश सांसदहरुको संसदीय विकास कोषको रकम भुक्तानी र सरकारको अन्य खर्च भुक्तानी गर्न असार २४ गतेसम्म मात्रै हुने भएकाले समय व्यस्तताका कारण संसद् सचिवालयमा सूचना टाँसेर प्रदेशसभा बैठक स्थगित गरिएको जनाए  ।

असार १ गते अर्थमन्त्री विजय यादवले प्रदेशसभामा पेश गरेको प्रदेश सरकारको बजेटमाथि छलफल शुरु हुन सकेको छैन । प्रदेशसभा सचिवालयले बैठक बोलाए पनि सरकारले तयारी नपुगेको जानकारी गराएपछि संसद् सचिवालयले बैठक पटकपटक स्थगित गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट