काठमाडौं- नेपाली कांग्रेसका नेता एवम् लौह पुरुष गणेशमानका पुत्र प्रकाशमान सिंहले पार्टीमा वडा स्तरदेखि नै योग्य नेतृत्व छान्नुपर्ने बताएका छन् । लोकतन्त्रका लागि हाम्रो अभियानले बुधबार आयोजना गरेको ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशनः नीति र नेतृत्वमा महिला’ विषयक बागमती र गण्डकी प्रदेशस्तरिय भर्चुअल अन्तरक्र्रियामा उनले पार्टीलाई बलियो बनाउन गाउँ तहदेखि नै योग्य नेतृत्व छनोट गर्नुपर्ने बताएका हुन् ।
नेता सिंहले आफू काठमाडौंको सभापति हुँदा पार्टीको जिल्ला सचिवदेखि तरुण दलको अध्यक्षसम्म महिलालाई बनाएको स्मरण गरे । नीति निर्माण गर्ने थलोमा महिला सहभागीता बलियो बनाउनुपर्ने उनको भनाइ थियो ।
केन्द्रीय सदस्य एनपी साउदले नेपालमा महिला आन्दोलनका कारण अहिले राज्यका विभिन्न अङ्ग र पार्टीमा महिलालाई ३३ प्रतिशत उपस्थितिको व्यवस्था गरिएको बताए । ‘महिलालाई जति सशक्तिकरण बनाउन सक्यो, त्यति नै देशको विकासमा सहयोग पुग्छ’, उनले भने ।
केन्द्रीय सदस्य रत्ना शेरचनले पार्टीको पदाधिकारीमा महिला प्रतिनिधित्व बढाउनुपर्ने बताए । प्रदेशसभा सदस्य राधा घलेले पार्टीको नेतृत्वमा महिलाको उपस्थिति गराउनका लागि महिलाहरु एकजुट भएर लाग्नुपर्ने उल्लेख गरिन् ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले नेपालको महिला आन्दोलनमा मङ्गलादेवी सिंहको महत्वपूर्ण भूमिका रहेको बताइन् । पार्टीका केन्द्रीय सदस्य एवं कार्यक्रमका संयोजक डा.डिला सङ्ग्रौलाले संविधानले व्याख्या गरेको अधिकारलाई पार्टीले लागू गर्नुपर्ने बताइन्
‘स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुनुपर्ने व्यवस्था गरेजस्तै कांग्रेसभित्र पनि सभापति वा उपसभापति एक महिला हुनुपर्ने व्यवस्था गर्नुपर्छ’, उनले भनिन् ।