सिंहदरबारमा बसेको नेकपा एमाले कार्यदलको बैठक स्थगित भएको छ ।
बैठकका लागि आन्तरिक तयारी नपुगेको भन्दै बैठक स्थगित भएको एक नेताले जानकारी दिए ।
बैठक पुन: सात बजे बस्ने भएको छ ।
माधव कुमार नेपाल पक्षका संयोजक भीम रावल कोटेश्वर गएपछि आजको बैठक एक घण्टा ढिला सुरु भएको थियो ।
एमाले कार्यदलको बैठक यो भन्दा अगाडी दुईपटक बसिसकेको छ ।
एमालेमा विग्रह बढ्दै गएर फूटको संघारमा पुगेपछि गत जेठ २ गते अध्यक्ष ओली र नेता नेपालका ५/५ प्रतिनिधि सम्मिलित कार्यदल गठन गरिएको थियो ।
कार्यदलमा ओली समूहका तर्फबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेपाल समूहको तर्फबाट भीम रावलको नेतृत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र रघुजी पन्त रहेका छन् ।
बीचमा ओलीले कार्यदलका सदस्य रावललाई पार्टीबाट नै निष्कासन गर्ने गरी कारवाही गरेपछि कार्यदलको औचित्य समाप्त भएको थियो । तर कार्यदलका सदस्यहरू अनौपचारिक भेटवार्तामा भने थिए ।