घरबाट भाग्न खोज्दाखोज्दै पहिरोले पुर्यो, १ को मृत्यु अर्का घाइते-Sutra News

घरबाट भाग्न खोज्दाखोज्दै पहिरोले पुर्यो, १ को मृत्यु अर्का घाइते

बिहिबार, २४ असार २०७८

बिहिबार, २४ असार २०७८

तनहुँको ऋषिङ गाउँपालिका–७ डढीवनमा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ । 



बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले पुरिएर आज बिहान ती महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा अन्दाजी ५२ वर्षीया देवीसरा थापा रहेको वडा सदस्य याम सारुमगरले जानकारी दिए । घरबाट भाग्ने क्रममा माथिबाट खसेको पहिराले पुरिएर उनको मृत्यु भएको हो । मृतकका श्रीमान् भने भागेर ज्यान बचाउन सफल हुनुभएको छ । 

“घरबाट भाग्न खोज्दा चप्पल हिलोमा गड्यो, चप्पल टिप्न खोज्दा पहिरोले पुर्यो,” उनले भने, “मृतकको शव निकाल्न सकिएको छैन ।” पहिरोले पुरिएर आज नै ऋषिङ गाउँपालिका–८ स्थित माझकोटका करीब ४० वर्षीय खुमबहादुर थापा बेपत्ता भएका छन् । उनको खोजी कार्य जारी छ । 

पहिरोले डढीवनमा तीन घर क्षतिग्रस्त भएको र थुप्रै घर जोखिममा परेको नेपाल रेडक्रस सोसाइटी कोटदरवार उपशाखाका सभापति इन्द्र आलेले जानकारी दिए । उनका अनुसार ऋषिङ–५ राम्जाकोटमा एक घर क्षतिग्रस्त र दुई घर जोखिममा परेको भने ऋषिङ–६ मा दुई घर र केही गोठ जोखिममा छन् । 

त्यस्तै ऋषिङ–४ का वडा सदस्य टोलनाथ थापाको घर र पद्मयोति विद्यालय भवन जोखिममा परेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डीका पौडेलले वर्षासँगै आएको पहिरोले गाउँपालिकाभित्रका थुप्रै ठाउँमा पहिराे गएका छन् भने बाटो अवरुद्ध भएका छन् । 

खोलाले बगाएर बेपत्ता

तनहुँको म्याग्दे गाउँपालिका–४ मा खोलाले बगाएर आज एक जना बेपत्ता भएका छन् । सोही ठाउँका अन्दाजी ४० वर्षीय मैत नेपालीको खोलाले बगाएर बेपत्ता भएका छन् । 

म्याग्दे खोला तर्ने क्रममा नेपालीलाई बगाएको स्थानीयवासी  नुत्त भुजेलले जानकारी दिए । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बढेको खोलाले बगाएका नेपालीको खोजीकार्य जारी रहेको उनले बताए । “प्रहरी र स्थानीयवासीले उहाँको खोजी शुरु गरेको छ,” भुजेलले भने ।
 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट