काठमाडौं- कोपा अमेरिकाअन्तर्गत आज सम्पन्न तेस्रो स्थानको प्रतिस्पर्धा कोलम्बियाले पेरुमाथि जित निकालेको छ । स्टेडियो नासिओनल डी ब्रसिल्लामा सम्पन्न खेलमा पेरुलाई ३-२ ले हराउँदै कोलम्बियाले तेस्रो स्थान सुरक्षित गरेको हो ।
खेलको ४५ औं मिनेटमा योसिमर योटूनको गोलमा पेरुले खेलमा अग्रता बनाएको थियो । पहिलो हाफमा एक गोलले पछि रहेको कोलम्बियाका लागि जुआन कुआड्राडोले ४९ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
त्यस्तै लुइस डियाजले ६६ औं मिनेटमा गोल थप्दै खेलमा अग्रता पनि दिलाए । उता पेरुका लागि जिआनलुका लपाडुलाले ८२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
प्रतिस्पर्धात्मक खेलको निर्णयात्मक गोल भने लुइस डियाजले इन्ज्युरी समयमा गरेका थिए । र, कोलम्बिया जारी सिजनको कोपा अमेरिका तेस्रो बन्न पुग्यो ।