काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँगको भेटले एमाले एकता वार्तामा नकारात्मक सन्देश जाने देखिएपछि एमाले वरिष्ठ नेता माधव नेपालको सचिवालयले नेता नेपाल बिरामी भएको र स्वास्थ्यका कारण भेट्न प्रचण्ड आएको स्पष्ट पारेको छ ।
नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जारी गरेको विज्ञप्तिमा नेता नेपाल केही दिनयता जनैखटिराका कारण स्वास्थ्यमा समस्या आई चिकित्सकको सल्लाहअनुसार घरमै आराम गरिरहेको उल्लेख छ ।
‘आज नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर निवासमा पुगी उहाँको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा नेपालको स्वास्थ्य समस्याका कारण शनिबार नेता नेपाल र प्रचण्डबीच संक्षिप्त भेट भएको र अन्य विषयमा कुरा नभएको पनि उल्लेख छ ।
नेता नेपालसँगको भेटपछि प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट्न बुढानीलकण्ठ पुगेका थिए ।