माओवादी वैध रहेको आयोगको निष्कर्षपछि टोपबहादुरले भने – अब सर्वोच्च जान्छौं-Sutra News

माओवादी वैध रहेको आयोगको निष्कर्षपछि टोपबहादुरले भने – अब सर्वोच्च जान्छौं

आइतबार, २७ असार २०७८

आइतबार, २७ असार २०७८

माओवादी केन्द्र खारेज गर्नुपर्ने भन्दै निर्वाचन आयोगमा दर्ता गरिएको निवेदन आयोगले खारेज गरिदिएपछि पूर्व माओवादी नेताहरू सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।



नेता टोपबहादुर रायमाझीले सूत्रन्यूजसँग भने – ‘आयोगले हाम्रो निवेदन खारेज गरिदिएको थाहा पायौं । त्यो प्रक्रियाका लागि मात्र थियो, अब हामी सर्वोच्च अदालत जान्छौं ।’

उनले प्रतिनिधि सभाको दोस्रो विघटनको मुद्दामा फैसला आएपछि आफूहरू सर्वोच्च जाने बताएका हुन् ।

‘भोलि फैसला आउँछ भन्ने कुरा छ,’ रायमाझीले भने, ‘सायद पर्सी नै जान्छौं ।’

एमालेमा लागेका पूर्वमाओवादी नेताहरूको पहलमा अधिवक्ता सरोज बुढाथोकीमार्फत् टोपबहादुर रायमाझी, प्रभु शाहलगायत नेताहरूले आयोगमा केही दिनअघि माओवादी केन्द्र खारेज हुनुपर्ने तर्कसहित निवेदन दर्ता गराएका थिए ।

माओवादी कानून र संविधानअन्तर्गत नचलेको भन्दै दल खारेज गर्नुपर्ने निवेदनलाई आइतवार आयोगले खारेज गरिदिएको हो ।

‘माओवादी केन्द्र विधिसम्मत चलेको देखियो,’ आयोगका एक कर्मचारीले भने, ‘पार्टी खारेज गर्नुपर्छ भन्दै आएको निवेदन खारेज गर्ने निर्णय आजको आयोगको बैठकले गरेको छ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट