एमालेमा भाँडियो सहमति : सर्वोच्चको फैसलाअघि केही नगर्ने माधवको अडान-Sutra News

एमालेमा भाँडियो सहमति : सर्वोच्चको फैसलाअघि केही नगर्ने माधवको अडान

आइतबार, २७ असार २०७८

आइतबार, २७ असार २०७८

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधि सभा विघटनसम्बन्धी परेको मुद्दामा सर्वोच्च अदालतको फैसला आउनुअघि कुनै सहमति नहुने स्पष्ट पारेका छन् ।



सहमतिका लागि भनेर बिहान साढे ९ बजेदेखि सिंहदरबारस्थित अर्थमन्त्रालयमा कार्यदलको बैठक जारी रहेको छ । आज बसेको बैठकले ११ बजेभित्र सहमति गरिसक्ने अनुमान गरिएको थियो ।

तर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्तालाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बटमलाइन बनाएका छन् ।

‘हस्ताक्षर कुनै हालतमा फिर्ता हुँदैन,’ नेपाल समूहका एक नेताले सूत्रन्यूजसँग भने । उनले हस्ताक्षर फिर्ताको शर्त तेर्स्याएर अदालतको फैसलालाई प्रभावित पार्ने खेल भइरहेकोया आरोप लगाए ।

कार्यदलको बैठक बसिरहँदा सदस्य घनश्याम भुसाल नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । उनी अहिले सिंहदरबार फर्किसकेका छन् । नेता नेपालले कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नहुने बरू बाँकी विषयमा अदालतको फैसलापछि सहमति गर्न सकिने भन्दै भुसाललाई पठाएका हुन् ।

यसअघि ९ बुँदे मस्यौदामा मोटामोटी सहमति जुटिसकेको थियो । आइतवारको बैठकमा जुटिसकेको सहमतिलाई औपचारिकता दिने निर्णय भएको थियो । तर हस्ताक्षर फिर्ताको विषय प्रवेश भएपछि सहमति भाँडिएको हो ।

नेपाल समूहका गोकर्ण बिष्टलगायत अन्य सदस्यहरूले जे भएपनि आजै सहमति गर्नुपर्छ भन्ने अडान लिएका छन् । तर शक्ति बाँडफाँड र हस्ताक्षर फिर्ताको विषय उठेपछि सहमति हुन सकेन ।

कार्यदलले कुनै सहमति गर्न नसकेपछि ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् । बैठक ४ बजे बस्ने भनिएको थियो, तर अहिलेसम्म बस्न सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट