कोरोना आतंक- फेरि बढ्दै सङ्क्रमण र मृत्यु-Sutra News

कोरोना आतंक- फेरि बढ्दै सङ्क्रमण र मृत्यु

सोमबार, २८ असार २०७८

सोमबार, २८ असार २०७८

बागलुङ- सदरमुकामस्थित धवलागिरि अस्पतालमा पछिल्ला दुई दिनमा चार कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् ।



मृत्यु हुनेमा २३ वर्षीया युवतीसमेत छन् । गम्भीर सङ्क्रमणका कारण अस्पतालको सघन उपचार कक्षमा तीन जना उपचाररत छन् । आइसोलेशनमा रहेका बिरामीमा पनि श्वासप्रश्वासको समस्या बढी छ । दुई साता अघितिर अस्पताल भर्ना हुने सङ्क्रमितको सङ्ख्या सातमा झरेकामा अहिले क्रमशः बढ्दै १२ पुगेको छ ।

जिल्लाभर सक्रिय सङ्क्रमित घटेर दुई सय ५४ पुगेकामा शनिबारसम्ममा पुनः सङ्ख्या उकालो लागेर तीन सय २२ पुगेको छ । यसले केही दिन थामिएजस्तो देखिएको सङ्क्रमण फेरि बढ्न थालेको सङ्केत गर्छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गरिएको कूल पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर २४.७ प्रतिशत छ जबकी नेपालको सङ्क्रमण दर १९.०१ प्रतिशत मात्र छ ।

कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले सङ्क्रमणसँगै मृत्युका घटना पुनः बढेको बताए । “होम आइसोलेशनमा बसेका सङ्क्रमित स्वास्थ्य स्थिति गम्भीर भइसकेपछि मात्र अस्पताल आउँदा मृत्यु बढेको हो”, उनले भने ।

शुक्रबार दिउँसो मृत्युवरण गरेकी तमानखोला गाउँपालिका–१ की २३ वर्षीया युवतीलाई पनि अस्पताल ल्याउन ढिलाइ भएको स्रोत व्यक्ति घिमिरेले बताए । निषेधाज्ञा खुकुलो पारिएसँगै सङ्क्रमणको जोखिम पनि उत्तिकै बढेको हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्नुपर्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट