संसद विघटनविरुद्धको फैसला आज आउन सक्ने, अदालत परिसरको सुरक्षा व्यवस्था कडा-Sutra News

संसद विघटनविरुद्धको फैसला आज आउन सक्ने, अदालत परिसरको सुरक्षा व्यवस्था कडा

सोमबार, २८ असार २०७८

सोमबार, २८ असार २०७८

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनविरुद्ध परेको रिटको फैसला आजै आउन सक्ने भएको हुनाले सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।



यतिबेला सर्वोच्च अदालत वरपर बाक्लो रुपमा प्रहरी खटाइएको छ ।

काठमाडौंका सडकमा अहिले ७०० को हाराहारीमा प्रहरी परिचालन गरिएको काठमाडौंका एसएसपी अशोक सिंहले बताएका छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला सोमबार आउँदै छ । असार २१ गते सोमबार रिट पक्षीयको जवाफ र एमिकस क्यूरीको धारणा सुनेपछि सर्वोच्च अदालतले असार २८ गते सोमबारका लागि फैसला मिति तोकेको थियो ।

नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तथा संसद विघटन बदरको मागसहित १४६ जना सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए ।

त्यसमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको संवैधानिक इजलासमा सुनुवाइ भएको हो ।

निवेदक पक्षका अधिवक्ताहरुले बहसको क्रममा राष्ट्रपतिबाट संविधानले दिएकोभन्दा बाहिर गएर अधिकारको प्रयोग भएको, प्रतिनिधिसभा विघटनको घोषणा असंवैधानिक रहेको तथा संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनमा सांसदहरुमाथि दलको ह्वीप नलाग्ने जिकिर गरेका थिए ।

सरकारी पक्षले सबै काम संविधान अनुसार नै भएको र धारा ७६ (५) मा पनि दलीय ह्वीप लाग्ने बहस गरेको थियो । संसद विघटन मुद्दामा एमिकस क्यूरीका चारजनाले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट