डोटी- पूर्वीचौकी गाउँपालिकाले महिनाबारी रजस्वला भएको बेला घरैमा बस्ने १४ महिलालाई नगद पुरस्कारसहित सम्मान गरेको छ । वर्षभरिमा महिनावारी छाउ हुँदा घरैमा बस्ने वडाभरिका १४ महिलालाई सम्मानस्वरुप पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ ।
महिनावारी भएका बेला छाउ बार्ने परम्परा तोडेको भन्दै उनीहरुलाई नगद पुरस्कार जनही रु पाँच हजारसहित सम्मान गरिएको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए । महिनावारी छाउ बारेकै कारण उक्त गाउँपालिकामा अहिलेसम्म तीन महिलाले अकालमै ज्यान गुमाइसकेको पाइएको छ ।
गाउँपालिकाले महिनावारी नबार्न गाउँमा विभिन्न कार्यक्रम सञ्चालन गरेपछि अहिले त्यहाँका महिला महिनावारी हुँदा घरै बस्ने गरेको गाउँपालिका उपाध्यक्ष निर्मलादेवी साउदले बताइन् ।
उनले भनिन्, ‘महिनावारी हुँदा छाउ बार्ने र गोठमा बस्ने चलनले धेरै महिलाले ज्यान गुमाएका कारण हामीले छाउ नबार्न अभियान चलाएका थियौँ, हाम्रो अभियान सफल भएको छ ।’
छाउ भएका बार्ने महिला तथा छाउ बार्न लगाउनेलाई पालिकाले नागरिकता सिफारिस, जन्म, मृत्यु दर्तालगायतका सेवा दिन बन्द गर्ने निर्णय गरेसँगै अहिले छाउ बार्ने महिलाको सङ्ख्या घटेको निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताए ।
उनले भने, ‘छाउपडी बार्नेजस्तो अति घृणित कार्य बन्द गर्न हामीले गाउँपालिकामा अभियान नै चलाएका छौँ, अब यहाँको छाउपडी प्रथा अन्त्य हुनेमा विश्वस्त छौँ ।’