नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न एमाले कार्यदलका सदस्यहरु कोटेश्वर पुगेका छन् ।
नेपाललाई भेट्न विष्णु पौडेल, सुवास नेम्वाङ तथा भीम रावललगायतका नेताहरु कोटेश्वर पुगेको स्रोतले जनाएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे बालुवाटारमा बोलाएको स्थायी कमिटीको बैठकमा सहभागीका लागि आग्रह गर्न उनीहरु त्यहाँ पुगेको बताइएको छ ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको स्थायी कमिटी बैठक बोलाएका छन् ।
ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरि मंगलबार दिउँसो १ बजेका लागि बैठक बोलाएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
उनकाअनुसार बैठकमा सर्वोच्च अदालतको फैसलाको समीक्षा, पार्टी एकता कार्यदलले बुझाएको १० बुँदे सहमति र केन्द्रीय समिति बैठक बोलाउने विषयमा छलफल हुनेछ ।
आन्तरिक किचलोमा रहेको एमालेको एकता प्रक्रियाका लागि ओली तथा नेता माधव नेपाल समूहका नेताहरु रहेको कार्यदलले सहमति गरेको छ ।
तर त्यसलाई लिएर विवाद सुरु भइसकेको तथा सर्वोच्चको फैसलापछिको अवस्थालाई लिएर अन्यौल सिर्जना भएका बेला बैठक हुन लागेको हो ।