राष्ट्रपति कार्यालयको भाषा : देउवा संविधानअन्तर्गत होइन, अदालतको फैसलाअन्तर्गत प्रधानमन्त्री भएका हुन् !-Sutra News

राष्ट्रपति कार्यालयको भाषा : देउवा संविधानअन्तर्गत होइन, अदालतको फैसलाअन्तर्गत प्रधानमन्त्री भएका हुन् !

मंगलबार, २९ असार २०७८

मंगलबार, २९ असार २०७८

राष्ट्रपति कार्यालयले कांग्रेस सभापति शेरबहादुर देउवालाई अदालतको फैसलाबमोजिम नियुक्त गरिएको सूचना जारी गरेको छ ।



कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा देउवालाई सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाबमोजिम नियुक्त गरिएको जनाइएको हो ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ,’ कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ ।

 यसअघि राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त लगायतका कामहरू गर्दा संविधानको धारा, उपधारा उल्लेख गर्ने गर्दथ्यो ।

सर्वोच्च अदालतले राष्ट्रपतिको क्षेत्राधिकार मिचेको भन्दै शीतलनिवासमा असन्तुष्टि प्रकट भएको छ । अदालतले संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गत देउवा प्रधानमन्त्रीमा नियुक्त हुने ठहर्छ भन्दै फैसला सुनाएको थियो ।

अदालतले संविधानको धारा उल्लेख गरेपनि राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा ‘अदालतको फैसला’ मात्र उल्लेख हुनुलाई चासोका साथ हेरिएको छ ।

साँझ ६ बजे देउवाको सपथका लागि समय तोकिएको छ । 

सोमवार सर्वोच्च अदालतले सभापति देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । गत जेठ ७ गते मध्यरातमा गरिएको प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै अदालतले १४९ जनाको हस्ताक्षर नै बहुमतका लागि पर्याप्त भएको निर्णय गरेको हो । 

अदालतको निर्णयप्रति निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र एमालेमा रहेको उनको समूहले असन्तुष्टि जनाउँदै आएको छ । 

फैसला अनुचित रहेको भन्दै ओलीले आज गरेको सम्बोधनमा अदालतको खुलेर आलोचना गरेका थिए । अदालतको फैसलासँग राष्ट्रपति कार्यालय पनि असन्तुष्ट रहेको बुझिएको छ । 

211682662_498162441477733_5280019881852118415_n.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट