४९ वर्षे उमेरमै देशको कार्यकारी बागडोर सम्हालेका थिए देउवाले, यस्तो छ उनको राजनीतिक विगत  -Sutra News

४९ वर्षे उमेरमै देशको कार्यकारी बागडोर सम्हालेका थिए देउवाले, यस्तो छ उनको राजनीतिक विगत  

मंगलबार, २९ असार २०७८

मंगलबार, २९ असार २०७८

भर्खरै प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवा अहिले उमेरले ७५ वर्ष लागेका छन् । उनको जन्ममिति २००३ साल जेठ ३ गते हो ।



७५ वर्षे वृद्ध उमेरमा पाचौं पटक प्रधानमन्त्री भएका देउवा ४९ वर्षकै युवा उमेरमा देशको कार्यकारी बागडोर सम्हालिसकेका थिए ।

२०४८ सालको आमनिर्वाचनमा डडेल्धुराबाट निर्वाचित भएका सांसद देउवा २०५२ को भदौ ६ मा पहिलोपटक प्रधानमन्त्री भएका नेता हुन् ।

नेपालमा जीवित रहेका प्रधानमन्त्रीहरूमध्ये देउवा सर्वाधिकपटक प्रधानमन्त्री भएका नेता हुन् ।

असिग्राम रुवाखोला, गन्यापधुरा गाउँपालिका–१ डडेल्धुरामा २००३ को जेठमा जन्मेका देउवा २०२२ सालमा कांग्रेसमा आबद्ध भएका थिए भने २०२७ सालमा नेविसंघको संस्थापक सदस्य पनि हुन् ।

प्रधानमन्त्री हुनुभन्दा अगाडि २०४८ सालमा कांग्रेस सरकारमा गृहमन्त्री भएका थिए देउवा । त्यसपछि २०५१ सालमा उनी कांग्रेस संसदीय दलको नेता भए ।

त्यतिबेलैदेखि कांग्रेस नेता गिरिजाप्रसाद कोइरालासँग उनको टसल बढेको थियो ।

संसदीय दलको नेता भइसकेपछि देउवा ५२ साल भदौ ६ मा पहिलोपटक प्रधानमन्त्री बने । उनी प्रधानमन्त्री बनेको ६ महिनामै तत्कालीन माओवादीले सशस्त्र जनयुद्ध शुरू गर्यो । माओवादीका तर्फबाट डा. बाबुराम भट्टराईले देउवा सरकारलाई बुझाएको मागपत्र कार्यान्वयन नगरिएपछि जनयुद्ध शुरू भएको थियो ।

देउवा २०५८ साल साउन ७ गते दोस्रोपटक प्रधानमन्त्री बने । उनलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री बनाएका थिए । त्यसपछि उनले संसद भंग गरेर आमनिर्वाचन घोषणा गरे । तर आमनिर्वाचन गराउन नसकेको भन्दै ज्ञानेन्द्रले नै उनलाई ५९ को असोज १८ मा बर्खास्त गरेका थिए ।

त्यसपछि देउवालाई तिनै ज्ञानेन्द्रले २०६१ सालको जेठ २० गते तेस्रोपटक प्रधानमन्त्री बनाए । उनले त्यसअघि कांग्रेस विभाजन गरेर छुट्टै पार्टी (कांग्रेस प्रजातान्त्रिक) बनाएका थिए ।

जनआन्दोलनमार्फत प्रतिनिधि सभा पुनःस्थापनापछि देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेस र गिरिजा नेतृत्वको कांग्रेसको एकीकरण भयो ।

त्यसयता वरिष्ठ नेताका रूपमा देउवा रहँदै आएका थिए । २०७२ सालमा देउवा कांग्रेसका सभापति बने । त्यसपछि संसदीय दलको नेता हुँदै चौथोपटक प्रधानमन्त्री बने । उनी प्रधानमन्त्रीका रूपमा रहँदा देशभरि सफलतापूर्वक आमनिर्वाचन सम्पन्न भयो तर कांग्रेस हार्यो ।

सबैभन्दा ठूलो पार्टीका रूपमा उदाएको नेकपा र त्यसपछि एमाले विभाजन भएपछि अब देशको नेतृत्व गर्ने जिम्मा देउवाकै काँधमा आइपरेको छ ।

प्रधानमन्त्री भएपछि ३० दिनभित्र विश्वासको मत लिनै पर्ने संवैधानिक प्रावधान छ । तर एमालेको माधवकुमार नेपाल समूहले विश्वासको मत नदिने संकेत गरेको छ । देउवाको नेतृत्वमा संसदको पूरा कार्यकाल चल्छ कि देश ६ महिनापछि चुनावमा जान्छ, त्यो भविष्यकै कुरा रह्यो ।

तस्वीर – सामाजिक सञ्जाल 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट