पाँच मन्त्रालय सम्हाल्दा कृष्णगोपाललाई रमाइलो !-Sutra News

पाँच मन्त्रालय सम्हाल्दा कृष्णगोपाललाई रमाइलो !

मंगलबार, २९ असार २०७८

मंगलबार, २९ असार २०७८

काठमाडौं- पाँच मन्त्रालयको नेतृत्व सम्हालेका मन्त्री कृष्णगोपाल श्रेष्ठ आजदेखि बिदा भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण, युवा तथा खेलकूद र श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले उनलाई बिदाइ गरेको हो ।



मन्त्री श्रेष्ठ १९ दिनमा शिक्षा मन्त्रालयबाहेक चार मन्त्रालयमा करिब एक दर्जन महत्वपूर्ण काम गर्न सफल भएका छन् ।

बिदाइ समारोहमा उनले अमेरिकी सरकारले कोभ्याक्स सुविधाअन्तर्गत उपहारस्वरुप दिएको जोन्सन एण्ड जोन्सन कम्पनीको खोप ल्याउन आफू सफल भएको भन्दै चीनबाट करीब ४० लाख खोप खरिद गर्न सम्झौता गरिसकिएको बताए । स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हालेलगत्तै उनले यस वर्षभित्र सबै नागरिकलाई खोप उपलब्ध गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यभार सम्हालेकै दिन चीनबाट खोप खरिद गर्ने सम्झौता गरेका मन्त्री श्रेष्ठ त्यसको एक साताभित्र आठ लाख मात्रा खोप ल्याउन सफल भए । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले मन्त्री श्रेष्ठको कार्यशैलीका कारण काम गर्न सहज भएको बताए ।

उनको कार्यकालमा तीन मुलुकबीचको फुटबल खेलमा पहिलो स्थान हासिल गर्ने फुटबल खेलाडीलाई नगद पुरस्कार र युवा परिषद्को बैठक सम्पन्न भएकोे थियो ।

मन्त्री श्रेष्ठले गत असोज २९ गतेदेखि शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । गत पुस १२ गतेदेखि शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका श्रेष्ठले मन्त्रालयअन्तर्गत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको गत वर्ष स्थगित कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरेका थिए । उनको कार्यकालमा विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिसहितका पदाधिकारीको नियुक्ति भएको थियो ।

मन्त्री श्रेष्ठले आफूले जे जस्तो काम गरे पनि मन्त्रालयका सचिवलगायत कर्मचारीको सहयोगले सम्भव भएको बताए ।

‘सबै क्षेत्रमा आमूल परिवर्तन गर्ने सोच थियो, तर कम समय भएकाले सम्भव भएन, जति काम सम्पन्न गरेँ, त्यसमा मलाई खुशी लागेको छ’, उनले भने, ‘पाँच वटा मन्त्रालयका बारेमा सिक्ने मौका पाएँ, एक पटकमा पाँच मन्त्रालयको जिम्मा पाएर इतिहास कायम गर्न सफल भएको महसुस गरेको छु । रमाइलो लाग्यो । ’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट