विप्लवको ‘म्याराथुन भेटवार्ता’ – के उनी सरकारमा जाने बाटो खोज्दैछन् ?-Sutra News

विप्लवको ‘म्याराथुन भेटवार्ता’ – के उनी सरकारमा जाने बाटो खोज्दैछन् ?

बिहिबार, ३१ असार २०७८

बिहिबार, ३१ असार २०७८

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ यतिबेला शक्तिकेन्द्र धाउन व्यस्त देखिन्छन् । बुधवार उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरे भने बिहीवार बिहानै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । एकदुई दिनमा विप्लवले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्ने कार्यक्रम रहेको छ ।



विप्लवको ‘म्याराथुन भेट’घाटको चर्चा यतिबेला राजनीतिक वृत्तमा चलिरहेको छ । कतै उनी सरकारमा सहभागी हुन खोजिरहेका त होइनन् भन्ने प्रश्न धेरैले उठाएका छन् । कतिपय सञ्चारमाध्यमहरूले वृहत वाम एकताका लागि अघि बढ्ने प्रस्तावसहित उनले प्रचण्ड र नेता नेपाललाई भेटेको टिप्पणी गरिरहेका छन् ।   

भूमिगत रहेका विप्लव र उनको दलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग गत फागुन २० गते तीन बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएको थियो । सहमतिको एउटा बुँदामा जेलमा रहेका विप्लवका नेता तथा कार्यकर्तालाई रिहाइ गर्नुपर्ने उल्लेख भएपनि जेलमा रहेका सबै रिहा भएका छैनन् ।

सहमतियता विप्लवले कम्तीमा ४ पटक तत्कालीन प्रधानमन्त्री ओलीसँग भेटेका थिए । सबै भेटमा विप्लवले आफ्ना नेता तथा कार्यकर्ता रिहाइको मागलाई जोडतोडका साथ उठाउने गरेका थिए । तर ओली यसमा उदासीन देखिएको निष्कर्ष विप्लवले निकालेका थिए ।   

गत असार २० गते नेकपाका दोस्रो वरियताका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एक पत्रकार सम्मेलनमा सहमति कार्यान्वयन नभए सरकारलाई नै अप्ठेरो पर्ने चेतावनी दिएका थिए ।  ‘हिरासतमा रहनुभएका हाम्रा नेता कार्यकर्तालाइ छोड्नु भएन भने पनि हामी आत्तिहाल्नुपर्ने छैन । किनभने यो त राजनीति हो । परिवर्तन, आन्दोलन हो । संघर्ष हो । यसले हामीलाई पनि केही प्रश्न खडा गर्ला । त्योभन्दा ठूलो नोक्सानी सरकारलाई हुन्छ । मूल्य चुक्ता सरकारले गर्नुपर्छ,’ उनले भनेका थिए ।

विप्लवको म्याराथुन भेटघाट केमा केन्द्रित छ त ? यो प्रश्न हामीले भेटघाटमा सरिक धर्मेन्द्र बास्तोलालाई सोधेका थियौं । उनले विशुद्ध तीन बुँदे सहमतिका बारेमा कुराकानी भएको बताए ।

‘हामीले सरकारसँग गरेको तीनबुँदे सहमति कार्यान्वयनका विषयमा प्रचण्ड र माधवसँग छलफल गरेका हौँ,’ उनले सूत्रन्यूजसँग भने, ‘त्यसबाहेक समसामयीक राजनीतिक परिस्थितिका बारेमा त छलफल हुने नै भयो । हाम्रो यतिबेलाको मुख्य कुरा राजनीतिक मुद्दा हाम्रा नेता तथा कार्यकर्तालाई जेलबाट छुटाउनु हो । त्यसमा दुवै नेता सकारात्मक देखिनुभएको छ ।’

विप्लव नेतृत्वको नेकपा सरकारमा सहभागी हुने कोणबाट राजनीतिक वृत्तमा चर्चा चल्न थालेको विषयलाई भने नेता बास्तोलाले स्वीकार गरेनन् ।

‘यही व्यवस्थाअन्तर्गत हामी सरकारमा जाने कुरा हुँदैन । तर कतिपयले नेकपा पनि सरकारमा गइदिए हुन्थ्यो जस्तो मानेका होलान् । तर हामी सरकारमा जाने कुनै सम्भावना छैन,’ नेता बास्तोलाले भने ।

तर प्रचण्डनिकट स्रोतले यदि विप्लव सरकारमा आउन चाहे त्यसलाई सम्बोधन गरिने बताएको छ । एक नेताले सूत्रन्यूजसँग भने – ‘उहाँ(विप्लव)हरूको पहिलो जोड तीनबुँदे सहमति कार्यान्वयन गर्नेमा रहेको छ भने दोस्रो वैज्ञानिक समाजवादी व्यवस्थाका लागि वृहत कम्युनिस्ट एकता आवश्यक रहेकोमा जोड दिनुभएको छ । अध्यक्ष प्रचण्डले यसमा थप छलफल गर्दै जाऔं भन्नुभएको छ । सिधै नभनेपनि उहाँहरूको भित्री चाहना चाहिँ सरकारसँग मिलेर अघि बढ्ने भन्ने छ । यदि सरकारमा आउन चाहेको हो भने हामी सकारात्मक छौं ।’

बुधवार कोटेश्वरमा विप्लव र नेपालबीच भएको छलफलमा प्रचण्ड टुप्लुक्क छिरेका थिए । तीनै नेताबीच कम्युनिस्टहरूको वृहत केन्द्र बनाउनेबारेमा कुराकानी भएको थियो । नेता बास्तोला भन्छन् – ‘हामीले नीतिगत हिसाबले वृहत कम्युनिस्ट केन्द्र बनाउने निर्णय गरेका छौं । अहिलेको राज्यसत्ताको प्रणाली बदल्ने गरी उहाँहरू सहमत हुनुभयो भने हामी पनि कम्युनिस्ट केन्द्र बनाएर अघि बढ्न सक्छौं । त्यसबारेमा थप छलफल आवश्यक पर्छ, अहिलेको छलफलले निष्कर्ष दिएको छैन ।’

जतिबेला विप्लवले तीन बुँदे सहमतिमार्फत मूलधारको राजनीतिमा आउने कदम चाले, त्यतिबेला पनि सरकारमा सहभागी हुने चर्चा चलेको थियो । ओलीसँग गठबन्धन बनाएर चुनावमा सहभागी हुने प्रतिबद्धता विप्लवले गरेको ओलीनिकट नेताहरूले बताउने गर्थे । तर अहिले तत्कालका लागि त्यो सम्भावना टरेको छ ।

नेता बास्तोलाका अनुसार अहिलेको गठबन्धनको सरकार पनि तीनबुँदे सहमतिप्रति प्रष्ट देखिन्छ । ‘प्रचण्ड र माधव दुवै नेताहरूले हामी तीनबुँदे सहमतिप्रति प्रतिबद्ध छौं भनेर भन्नुभएको छ,’ बास्तोलाले भने । यद्यपि ओलीले त्यतिबेला विप्लवसँग सहमति गर्दा अन्य राजनीतिक दलहरूसँग कुनै परामर्श गरेका थिएनन् ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले ओलीले विप्लवसँग गरेको सहमतिको अपनत्व लिन्छन् कि लिँदैनन् त्यसको संकेत अहिलेसम्म देखिएको छैन । नेता बास्तोलाले केही देउवासँग पनि कुराकानी गर्न प्रयास भइरहेको जानकारी सूत्रन्यूजलाई दियो ।

नयाँ सरकार बनेसँगै विप्लवले गठबन्धनका नेताहरूसँग भेटवार्ता तीव्र पार्नुले राजनीतिमा केही न केही संकेत त गरेको छ । त्यो विप्लवको रणनीतिक मूभ मात्र हो कि कम्युनिस्टहरूबीचको एकता मार्फत पुनः सत्तामा आउने प्रयास हो त्यो भविष्यले नै बताउला ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट