काठमाडौं- मिचेल मार्सको अलराउन्डर प्रदर्शनमा अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टीट्वेन्टी शृंखलामा पहिलो जित निकालेको छ । बिहीबार सेन्ट लुसियाको ड्यारेन सामी नेसनल स्टेडियममा भएको चौथो खेलमा अस्ट्रेलियाले घरेलु टोली वेस्ट इन्डिजमाथि चार रनको रोमाञ्चक जित निकाल्दै पाँच खेलको शृंखलामा पहिलो सफलता हात पारेको हो ।
१ सय ९० रनको लक्ष्य पछ्याएको घरेलु टोली वेस्ट इन्डिजलाई १ सय ८५ रनमा रोक्दै अस्ट्रेलियाले रोमाञ्चक जित निकालेको हो । वेस्ट इन्डिजका लेन्डल सिमोन्सले ७२ रनको अर्धशतकीय पाली खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।
वेस्ट इन्डिजका इभिन लुइसले ३१, फाबियन एलोनले २९, आन्द्रे रसेलले २४ र कप्तान निकोलस पुरनले १६ रन बनाए । अस्ट्रेलियाका मिचेल मार्सले तीन विकेट लिए । यस्तै एडम जाम्पाले दुई तथा रिले मेरेठिथले एक विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । अस्ट्रेलियाका लागि मार्सले ४४ बलमा ७५ रनको आक्रामक पालि खेलेका थिए । उनले ६ छक्का र ४ चौका हिर्काए ।
यसैगरी कप्तान एरोन फिन्चले पनि अर्धशतकीय पाली खेलेका थिए । उनले ५३ रन बनाए । यसैगरी डानियल क्रिस्टियनले २२ रन बनाउँदा मिचेल स्टार्क ८ रनमा अविजित रहे । वेस्ट इन्डिजका हेडन वाल्सले ३ विकेट लिए । यसैगरी ओसाने थोमस, आन्द्रे रसेल र फाबियन एलोनले एक/एक विकेट हात पारे ।
पाँच खेलको शृंखला वेस्ट इन्डिजले दुई खेल बाँकी छँदै जितिसकेको छ । पहिलो खेलमा वेस्ट इन्डिजले १८ रनले जित निकालेको थियो । यसैगरी दोस्रो खेलमा पनि घरेलु टोलीले ५६ रनको जित निकालेको थियो ।
तेस्रो खेलमा अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै घरेलु टोलीले शृंखला जितेको थियो । यी दुई टोलीबीचको पाँचौं तथा अन्तिम खेल शुक्रबार हुनेछ । वेस्ट इन्डिज भ्रमणमा अस्ट्रेलियाले पाँच टीट्वेन्टीपछि तीन एकदिवसीय खेल खेल्नेछ ।