काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन्।
उनले डा. भट्टराईको निवासमा पुगेर भेटघाट गरेका हुन्।
उनीहरुबीचको भेटवार्तामा केपी ओली सरकारसँग भएको सहमति कार्यान्वयनलगायतका विषयमा छलफल भएको उनका प्रेस संयोजक विश्वदीप पाण्डेले बताए ।
उनले हिजो वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका थिए ।
विप्लवको ‘म्याराथुन भेट’घाटको चर्चा यतिबेला राजनीतिक वृत्तमा चलिरहेको छ । कतै उनी सरकारमा सहभागी हुन खोजिरहेका त होइनन् भन्ने प्रश्न धेरैले उठाएका छन् । कतिपय सञ्चारमाध्यमहरूले वृहत वाम एकताका लागि अघि बढ्ने प्रस्तावसहित उनले प्रचण्ड र नेता नेपाललाई भेटेको टिप्पणी गरिरहेका छन् ।
भूमिगत रहेका विप्लव र उनको दलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग गत फागुन २० गते तीन बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएको थियो । सहमतिको एउटा बुँदामा जेलमा रहेका विप्लवका नेता तथा कार्यकर्तालाई रिहाइ गर्नुपर्ने उल्लेख भएपनि जेलमा रहेका सबै रिहा भएका छैनन् ।
सहमतियता विप्लवले कम्तीमा ४ पटक तत्कालीन प्रधानमन्त्री ओलीसँग भेटेका थिए । सबै भेटमा विप्लवले आफ्ना नेता तथा कार्यकर्ता रिहाइको मागलाई जोडतोडका साथ उठाउने गरेका थिए । तर ओली यसमा उदासीन देखिएको निष्कर्ष विप्लवले निकालेका थिए ।