ती एमाले जसले व्यवस्था जोगाए, यी माओवादी जसले आफ्नै साख गुमाए-Sutra News

ती एमाले जसले व्यवस्था जोगाए, यी माओवादी जसले आफ्नै साख गुमाए

शुक्रबार, १ साउन २०७८

शुक्रबार, १ साउन २०७८

सर्वोच्च अदालतको फैसलासँगै निवर्तमान प्रधानमन्त्री ओली बर्खास्त भएपछि सन्तुष्ट समूहको नेतृत्व गरेका माधवकुमार नेपाललाई सामाजिक सञ्जालमा ‘म्यान अफ द म्याच’को संज्ञा दिइएको छ । एमालेभित्रै रहेर निरन्तर ओलीप्रवृत्ति विरुद्ध संघर्ष गरेका नेपाल र उनलाई साथ दिएका २३ सांसदहरू व्यवस्था र संविधान जोगाउन पार्टीविरुद्ध उभिएका हुन् ।



ओलीले आफूलाई मन नापरेकै कारण प्रतिनिधि सभा दुई/दुईपटक भंग गरेका थिए । संसदसँग सरकार बनाउने अधिकार र बाटो हुँदाहुँदै ओलीले संसदप्रति तुष राखे । पुष ५ गते पहिलोपटक र जेठ ७ को मध्यरातमा दोस्रोपटक प्रतिनिधि सभा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत ‘लहड’को शिकार बनेको थियो ।

दोस्रोपटक प्रतिनिधि सभा विघटन हुँदा नेकपाको एकता खण्डित भएर एमाले र माओवादी केन्द्र दुईवटा पार्टी अस्तित्वमा आइसकेका थिए । ओली नेतृत्वको एमालेले चुनावी तयारी गरिसकेको थियो भने प्रतिनिधि सभा पुनःस्थापना नहुने जिकिर गरिरहेको थियो । संविधानका धाराहरूलाई गलत व्याख्या गरेर संसदमाथि गरिएको आक्रमणविरुद्ध एमालेकै नेता नेपाललगायत २३ सांसदले विद्रोह गरेका थिए ।

उनीहरूले गरेको विद्रोहलाई सर्वोच्च अदालतले सार्थक तुल्याइदियो । प्रतिनिधि सभा पुनःस्थापना मात्र भएन कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गरियो । फलतः अहिले देउवा यो देशको कार्यकारी प्रमुख भएका छन् भने ओली बालकोट गएर थन्किएका छन् ।

को थिए ती २३ सांसदहरू जसले संविधान र व्यवस्था जोगाए ?

जेठ ७ गते मध्यरातमा प्रतिनिधि सभा दोस्रोपटक ओली र विद्याको शिकार बन्यो । त्यसलाई चुनौती दिंदै कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र एमालेका नेपाल पक्षका सांसदहरू सर्वोच्च अदालतमै उपस्थित भएर देउवाका नाममा परमादेश माग्दै रिट दर्ता गरे । रिटमा एमालेबाट विद्रोह गर्नेमध्येका योगेश भट्टराई र गोकर्ण बिष्टको भने हस्ताक्षर थिएन ।

एमालेबाट विद्रोह गर्नेहरू झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, कल्याणी खड्का, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, झपट रावल, दीपकप्रकाश भट्ट, नारायण खतिवडा, निरादेवि जैरू, रामकुमारी झाँक्री, लक्ष्मीकुमारी चौधरी, विरोध खतिवडा, सरलाकुमारी यादव, सोमप्रसाद पाण्डे, कलिला खातुन, पुष्पाकुमारी कर्ण कायस्थ, भवानीप्रसाद खापुङ, मुकुन्द न्यौपाने, मेटमणी चौधरी र यज्ञराज सुनुवार थिए ।

यी माओवादी जसले साख गुमाए

गत फागुन २३ गते अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि २३ जना पूर्व माओवादी नेताहरू एमालेको केन्द्रीय सदस्य बन्न गए । उनीहरूलाई ओलीले गरेको प्रतिगमनको मतियार बनेको आरोप लागेको छ । उनीहरूले अहिले माओवादी केन्द्र नै खारेज गर्नुपर्छ भन्न थालेका छन् ।

माओवादी केन्द्र खारेज गर्नुपर्ने मागसहित निर्वाचन आयोगमा दिएको निवेदनलाई आयोगले खारेज गरिसकेको छ । टोपबहादुर रायमाझीले अब सर्वोच्च अदालत जाने चेतावनी दिएका छन् ।

रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला शाह, टेकबहादुर बलमपाखी, कमल चौंलागाईं, मनोज थापा, विषमलाल अधिकारी, लीलालबहादुर थापा, दधिराम न्यौपाने, गिरधरि लाल, झपट बोहोरा, दावा लामा, चन्द्रबहादुर खड्का, डम्बर बिष्ट, गौरीशंकर चौधरी, नवीन रोक्का, धर्मराज रेग्मी र दिनेश पन्थी माओवादी केन्द्र छाडेर एमालेमा लागेका नेताहरू हुन् ।

यीमध्ये रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा स्थायी कमिटीमा नियुक्त भइसकेका छन् ।

एमालेको एकता टर्दै गएको स्थितिमा पूर्व माओवादी नेताहरूको भूमिका के हुने भन्ने प्रश्न अहिले राजनीतिक वृत्तमा चुलिएको छ । ओलीसँग यतिबेला न सत्ता छ, न त लामो समय एमाले हाँकेका र प्रधानमन्त्री भइसकेका नेपाल र खनाल नै छन् । पूर्व माओवादी नेताहरूको व्यवस्थापनमा स्वयं ओली गुटले नै चित्त बुझाएको छैन ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट