भीम रावललाई फकाउने ओलीको प्रयास असफल-Sutra News

भीम रावललाई फकाउने ओलीको प्रयास असफल

शुक्रबार, १ साउन २०७८

शुक्रबार, १ साउन २०७८

एमाले नेता डा. भीम रावललाई फकाएर आफ्नो गुटमा ल्याउने अध्यक्ष केपी शर्मा ओलीको प्रयास असफल भएको छ । रावललाई बालुवाटार बोलाएर ओलीले कार्यवाहक अध्यक्षसमेत दिने आश्वासन दिएका थिए ।



आज विघटित कार्यदलमा रावलले माधवकुमार नेपाल समूहको नेतृत्व गरेका थिए । ओलीबाट आश्वासन पाएपछि रावलकै पहलमा गत आसार २७ गते साँझ १० बुँदे सहमति भएको थियो ।

रावलको पहलमा भएको सहमति नमान्ने भन्दै नेता नेपालले सार्वजनिक रूपमै भनेका थिए । त्यसयता रावलले गुट बदलेको चर्चा चलेको थियो । तर अन्तिम समयमा भने रावलले नेता नेपाललाई नै साथ दिने भएका छन् ।

गत आसार २० गते बालुवाटारमा रावलले ओलीसँग भेट गर्नुअघि ‘रअ’का प्रतिनिधिसँग भेट भएको थियो । यद्यपि रावलले त्यसको खण्डन गर्दै आएका छन् । उनले ‘रअ’सँगको आफ्नो भेटको समाचार नियोजित प्रोपोगान्डा भएको बताएपनि उच्च सुरक्षा स्रोतले भेटको पुनःपुष्टि भने गरेको छ ।  

नेपाल समूहकै नेतृत्व गरेका कार्यदलका प्रभावशाली नेता रावललाई फकाउने प्रयास असफल भएको हो । आज बसेको स्थायी कमिटीको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ ।

बैठक रोक्न माग गर्दै रावलसहित केही नेताहरू च्यासलस्थित तुलसीलाल आमात्य प्रतिष्ठानको भवनमा पुगेका थिए । उनीहरूले बैठक तत्काल रोक्न गरेको मागलाई ओलीले अस्वीकार गरे । त्यसपछि नेपाल समूहका नेताहरू निराश बनेर फर्किएका थिए ।

उनीहरू अहिले ओलीले नै एकता नचाहेको निष्कर्षमा पुगेका छन् । आजको बैठकले प्रतिवेदन स्वीकार गर्दै कार्यदल विघटन गरिदिएको छ । अब रावल कार्यदलको सदस्य रहेका छैनन् ।

‘देउवालाई विश्वासको मत दिनेबेलासम्म ४० देखि ५० सांसदहरू पुग्छ,’ एमालेका सांसद विरोध खतिवडाले सूत्रन्यूजसँग भने, ‘हामीले रिट निवेदनमै संसदको पूर्ण कार्यकालका लागि भनेर भनेका छौं । त्यसैले विश्वासको मत नदिने कुरै हुँदैन ।’

उनले नेपाल समूहका कुनै पनि नेताले गुट नफेरेको दाबीसमेत गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट