काठमाडौं- सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि रिहा भएका नेत्रविप्लव चन्द (विप्लव) समूहका नेता हेमन्त प्रकाश वलीले अहिलेको संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्ने बताएका छन् ।
शुक्रबार महाराजगंजमा आयोजित स्वागत कार्यक्रममा उनले अहिलेको व्यवस्थाका कारण जनताको अवस्थामा कुनै सुधार नआएको भन्दै संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्ने बताएका हुन् ।
उनले जनताको मन नजिति मुलुकमा वास्तविक जनतन्त्र नआउने बताए । वलीले अहिलेको कम्युनिस्ट वास्तविक कम्युनिस्ट नभएको आरोप लगाए । उनले आफू चार वर्षपछि बाहिर आएको भएपनि जेलजिवन आफ्नो लागि नौलो नभएको बताए ।
केहीवर्षअघि ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा विप्लव समूहले गराएको बम विष्फोटमा संलग्न भएको आरोपमा वलीलाई पक्राउ गरिएको थियो ।
उनी मुटुको उपचारका लागि शहिद गंगालाल हृदयकेन्द्रमा भर्ना भएका बेला सर्वोच्चले साधारण तारिकमा रिहा गर्न आदेश दिएको हो ।