काठमाडौं- नेपाल स्काउटको गरिमा र उचाइलाई बढाउन समयमा नै निर्वाचन गर्नुपर्ने भन्दै नेपाल स्काउट प्रगतिशिल संघर्ष समितिले स्काउट कार्यालय अगाडि प्रदर्शन गरेका छन् । शुक्रबार समितिले स्काउटको निर्वाचन छिटोभन्दा छिटो गर्नुपर्ने भन्दै काठमाडौंको लैनचौरस्थीत स्काउट कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले स्काउटको निर्वाचन हरेक ४ ४ वर्षमा हुनुपर्ने भएपनि १० वर्ष सम्म निर्वाचन नै हुन नसकेको भन्दै विरोध जनाएका थिए । नेपाल स्काउट प्रगतिशिल संघर्ष समिति पुण्यराम गोथेले तत्काल स्काउटको निर्वाचन गर्न स्काउट समिति गठन गर्न माग गर्दै प्रदर्शन गरिएको बताए ।
उनले अहिलेको तदर्थ समितिको म्याद यसअघि नै सकिएको तर समितिले मनोमानी गरेकाले बाध्य भएर विरोध गर्नुपरेको जिकिर गरे । उनले नेपाल स्काउटलाई नयाँ ढंगले चलाउनका लागि छिटो निर्वाचन गर्न सरकारको ध्यानाकर्षण गराए । आफूहरुको माग पूरा नभए आमरण अनसनसम्मका कार्यक्रम सार्वजनिक गर्ने संघर्ष समितिले जनाएको छ ।