मनाइयो साउने सङ्क्रान्ति-Sutra News

मनाइयो साउने सङ्क्रान्ति

शुक्रबार, १ साउन २०७८

शुक्रबार, १ साउन २०७८

काठमाडौं- सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइएको छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाउने गरिन्छ ।



अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा.डा.रामचन्द्र गौतम बताउँछन् ।

एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाएका छन् । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी बेलुकी अगुल्टो फाल्ने विधि छ । यो विधि बेलुकी सम्पन्न गरिन्छ ।

लुतो फाल्दा आ आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि अध्यक्ष गौतमले बताए ।

साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ ।

यसवर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण आफन्तकहाँ जान सहज भएन । यसैले धेरैले घरमै परिवारका सदस्यबीच रमाइलो गरी पर्व मनाएका छन् । भक्तजनको भीड लाग्ने राजधानीलगायत देशभरका शिवालयमा पनि आज मानिस देखिएनन् ।

पशुपतिनाथ मन्दिर कोरोनाका कारण भक्तजनका लागि खुला नगरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा‍‍.प्रदीप ढकालले बताए । मूल मन्दिर क्षेत्र सुनसान रहे पनि बाहिरी भागमा भने भक्तजनको चहलपहल देखिएको थियो ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट