दिनहुँ किन आन्दोलित छन् इसीडी शिक्षक ? माग पूरा नगर्ने को हुन् ?-Sutra News

दिनहुँ किन आन्दोलित छन् इसीडी शिक्षक ? माग पूरा नगर्ने को हुन् ?

शुक्रबार, १ साउन २०७८

शुक्रबार, १ साउन २०७८

धनगढी- सरकारले घोषणा गरेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग गर्दै सुदूरपश्चिमका बालविकास (इसीडी) शिक्षक तथा कर्मचारी आन्दोलनमा उत्रेका छन् । नेपाल शिक्षक महासंघ सुदूरपश्चिम कमिटीले शुक्रबार धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना दिएको छ ।



एकीकृत अखिल नेपाल शिक्षक संगठन सुदूरपश्चिमका उच्च मावि विभागका संयोजक डम्मरदत्त जोशीले संघीय सरकारले गरेको निर्णयबमोजिम स्थानीय तहले पारिश्रमिक नदिएपछि सामुदायिक विद्यालयको बाल विकासका शिक्षक र कर्मचारी मारमा परेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको गुनासो गरे ।

उनले भने, ‘संघीय सरकारले विद्यालय कर्मचारी र बालविकासका शिक्षकलाई १५ हजार पारिश्रमिक दिने घोषणा गर्यो । तर, पालिकाहरुले उक्त निर्णय कार्यान्वयन गर्न आवश्यक पर्ने बजेट विनियोजन नगरेका कारण हामी बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको हो ।’

केपी शर्मा ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा सामुदायिक विद्यालयका कार्यरत बालविकासका शिक्षक र कर्मचारीलाई न्यूनतम १५ हजार रुपैयाँ पारिश्रमिक दिने घोषणा गरेको थियो । ओली नेतृत्वको सरकार ढलेपछि उक्त घोषणा कार्यान्वयन नभएको भन्दै आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघले जनाएको छ । महासंघले पहिलो चरणमा संघीय सरकार, प्रदेश र स्थानीय तहलाई ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट