आगलागीमा घाइते भएका किरियापुत्रीको उपचारका क्रममा मृत्यु-Sutra News

आगलागीमा घाइते भएका किरियापुत्रीको उपचारका क्रममा मृत्यु

शनिबार, २ साउन २०७८

शनिबार, २ साउन २०७८

पाँचथर- आगलागीमा परी घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका फिदिम नगरपालिका-४ जोरसालका ४९ वर्षीय दीननाथ सापकोटाको गएराति मृत्यु भएको परिवारजनले जनाएका छन् ।



बाबुको काजकिरियामा बसेका सापकोटा गत जेठ २४ गते राती आगलागी हुँदा घाइते भएका थिए । उपचारका क्रममा झापाको मेची प्रादेशिक अस्पतालमा सापकोटाको गएराति मृत्यु भएको हो । उनीसँगै घाइते भएकी उनकी आमा ७२ वर्षीया चनमाया सापकोटाको गत जेठ २६ गते मृत्यु भएको थियो । दीननाथका बाबु भगीरथ सापकोटाको जेठ २४ गते मृत्यु भएको थियो ।

भगीरथको मृत्युपछि काजकिरियाको सुरुआत गरेकै दिन राति आगलागी हुँदा किरियामा बसेका तीन जना घाइते भएका थिए । घाइतेमध्ये मृतक दीननाथका भाई मदन भने निको भइसकेको बताइएको छ । आगलागीमा घाइते तीनै जनालाई उपचारका लागि मेची प्रादेशिक अस्पताल लगिएको थियो ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट