काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठक आइतबार बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्दैछ । बैठकमा पार्टीको आन्तरिक विवाद र संसदमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा छलफल हुने जनाइएको छ ।
एमालेको केन्द्रीय समिति बैठक मंगलबार बस्दैछ । च्यासलमै बस्ने सो बैठकका लागि आइतबारको स्थायी कमिटी बैठकले एजेण्डा तय गर्ने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आइतबार बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्दैछ । संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक अवस्था, संसदमा माओवादीको भूमिका र सरकारमा सहभागिताबारे छलफल हुने जनाइएको छ ।
यसैबिच सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेस संसदीय दलको बैठक पनि आइतबार नै बस्दैछ । कांग्रेस संसदीय दलको बैठक दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने जनाइएको छ ।
सर्वोच्च अदालतको फैसलाबाट दोस्रोपटक पुनर्स्थापित भएको प्रतिनिधिसभाको पहिलो बैठक आइतबार बस्दैछ ।राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा आइतबार बेलुका ४ बजेका लागि संसद बैठक बोलाएकी हुन् ।