

दश बुँदे सहमतिपत्रलाई आधार मानेर नेकपा एमालेको एकतालाई कायम राख्ने भीम रावलको प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपाल असहमत भएपछि रावल राजीनामा पत्रसहित सिंहदरबारस्थित संसद सचिवालयमा आइतवार अपराह्न ४ बजेतिर पुगे ।
नेपाल समूहका केही सांसदहरू त्यहाँ पहिल्यैदेखि उपस्थित भएका थिए ।
रावल जसै संसद सचिवालय भित्रको कार्यालय पुगेर संघीय संसदका महासचिवको कार्यालयभित्र छिरे, त्यहाँ उपस्थित झपट रावलले भीम रावलको हातबाट राजीनामा खोसेका थिए ।
झपटले ‘अहिले यस्तो गर्नुहुँदैन कमरेड’ भन्दै राजीनामा खोसेपछि भीम रावल सिधै बानेश्वर हानिए ।
संसद भवन बानेश्वर पुगेपछि सञ्चारकर्मीहरूका अगाडि रावलले राजीनामा पढ्न थाले । उनलाई सुरेन्द्र पाण्डेले रोक्न खोजे तर सफल भएनन् ।
उनले दिएको राजीनामा पत्रमा भनिएको छ – ‘राजनीतिक नेतृत्वको त्यसविपरितका काम हुँदै देश र जनतालाई अनेकौँ पीडा र अनिश्चयको दिशातर्फ धकेल्ने किर्ते काम हुँदै गए ।’
अन्ततः उनले राजीनामा दिए । उनी नेपाल समूहबाट विघटित कार्यदलको नेतृत्व गरेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन पनि नचाहेको र नदिन पनि नचाहेकाले उनले राजीनामा बुझाएका हुन् ।