संसदमा प्रचण्डको आक्रोश- गठबन्धनबाट देशमा राजनीतिक स्थायित्व होला भन्ठान्यो तर…-Sutra News

संसदमा प्रचण्डको आक्रोश- गठबन्धनबाट देशमा राजनीतिक स्थायित्व होला भन्ठान्यो तर…

आइतबार, ३ साउन २०७८

आइतबार, ३ साउन २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले यति चाँडै संसद् विघटन र अविश्वासको प्रस्ताव ल्याउनुपर्ने अवस्था आउँथ्यो भन्ने लागेको भए आफूले गठबन्धनको प्रस्ताव नै नलग्ने बताएका छन् । आइतबार संसद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्टको सरकार निर्माण, स्थायी सरकार र समृद्धिका लागि भनेर गठबन्धन गरेको भए पनि त्यस्तो हुन नसकेका बताएका हुन् ।



प्रचण्डले भने, ‘जसले गठबन्धनबाट देशमा राजनीतिक स्थायित्व होला भन्ठान्यो, र प्रस्ताव लिएर गयो, त्यो मान्छेले बोल्नुपर्दा पार्टी एकता गरौँ, देशमा कम्युनिष्टहरुको राम्रो पकड छ, ठुलो उभार आउला र देशमा विकास आउला, समृद्धितिर देश लैजान सकिएला भनेर एकताको प्रस्ताव राख्ने मान्छेले आज दोस्रोपटक पुनःस्थापित भएको सदनको अगाडि उभिँदा मेरो अनुभूति कस्तो भएको होला भन्ने माननीय सदस्यहरूले बुझ्नुभएकै होला ।’

प्रचण्डले थप भने, ‘यस्तो दुर्दशा यति छिटो देख्न पर्ला भन्ने लागेको भए मैले किन गठबन्धनको प्रस्ताव लैजान्थे होला । किन पार्टी एकताको प्रस्ताव लैजान्थे होला । त्यसकारण मैले यहाँ, अहिले पनि मलाई त्यति स्वाभाविक लागिरहेको छैन यो बीचमा पनि । यी विषयमा कुराहरू भन्नुभन्दा अगाडि नै के भन्न चाहन्छु भने अस्ति प्रधानमन्त्रीको शपथग्रहण कार्यक्रम वा नियुक्तिको सम्बन्धमा राष्ट्रपति कार्यालयमा केही अस्वाभाविक परिघटना भए । त्यहाँ प्रधानमन्त्री नियुक्तिको सम्बन्धमा प्रयोग भएको भाषा, जो संविधानको मर्म र भावना विपरीत थियो । र, शपथग्रहण नै रोकिएको थियो, त्यो आफैंमा त्यस्तो खालको पटकपटक हुने कुरा थिएन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट