काठमाडौं- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ओलीको बहिर्गमनले भष्मासुर प्रवृत्तिको अन्त्य भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री देउवाको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै डा.भट्टराईले ओलीको कलंकपूर्ण शासनको अन्त्य भएको बताएका हुन् । उनले पुस ५ गतेदेखि जेठ ८ गतेसम्मको अवधिमा इतिहासको कालखण्डमा नराम्रो भएको बताएका हुन् ।
डा.भट्टराईले भने, ‘पुस ५ देखि जेठ ८ गतेसम्म इतिहासको कलंकका रुपमा रहनेछ । जनताको सर्वोच्च निर्वाचित संस्थालाई पटक पटक विघटन गर्ने अपमानित गर्ने काम परास्त भएको छ । भष्मासुर प्रवृति पराजित भएको छ ।’ उनले संविधानलाई आफूले जारी भएकै दिन आधा गिलास पानी भनेको र त्यो आधा गिलास पानीलाई पनि ओलीले खन्याइदिएको आरोप लगाए ।
‘ओलीले आधा गिलास पानी पनि खन्याए । हामीले त्यसलाई भर्न लागेका छौँ । सर्वोच्चको फैसलाले देशलाई अध्यारो सुरुङमा जानबाट रोकेको छ, भट्टराई भने ।
उनले देउवा नेतृत्वको सरकारले द्वन्द्वकालीन मुद्दाको सम्बोधनलाई चाँडो सम्बोधन गर्नुपर्ने उल्लेख गरे । भट्टराई अझ पनि शान्ति प्रक्रियाको बाँकी कामको रुपमा रहेको टिआरसीलाई राजनीतिक मोलमोलाइएको विषय नबनाउन आग्रह गरे । सरकारले कोरोना नियन्त्रण र भ्रष्टाचार नियन्त्रणमा विशेष ध्यान दिन भट्टरार्ईले सुझाव दिए ।
उनले आफ्नो पार्टीतर्फ संकेत गर्दै अभागीलाई खानेबेला रिस उठ्ने उखानको स्मरण गरे । ‘अहिले साथीहरुले पनि देउवालाई मतदमन गर्ने हुनुभयो, मलाई खुसी लागेको छ,’ उनले भने । महन्थ ठाकुर पक्षका जनता समाजवादी पार्टीले पनि देउवालाई मतदान गर्ने निर्णय गरेका थिए । ‘हामीले दिउँसो नै २० जनाको बैठक बसेर देउवालाई समर्थन गर्ने निर्णय गरिसकेका थियौँ,’ डा.भट्टराईले भने ।