काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले संसद विघटन गर्ने नाममा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बाध्य पारेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा उनले भने, ‘दुई बजे संसद विघटन गर्ने ? राष्ट्रपति विचरा सुत्न पाउनुभएन । उहाँले बाध्य पारिदिनुभयो ।’
देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका नेता ओलीको संसदमा अनुपस्थित भएको भन्दै गुनासो गरे ।
उनले भने, ‘प्रधानमन्त्रीले सदनमा बोल्दा प्रतिपक्षी दलको नेताले सुन्नुपर्छ । उहाँले बोल्दा म सँधै आउँथे । तर उहाँ आउनुभएन । उहाँको स्वास्थ्य अवस्था पनि ठीक नभएको होकि ?’
प्रधानमन्त्री देउवाले सदनमा नबोलेको प्रति पनि गुनासो गरे । ‘उहाँ राम्रो बोल्नुहुन्थ्यो । तर आज बोल्नुभएन । माननीयज्यू (प्रदीप ज्ञवाली) ले बोल्नुभयो,’ देउवाले भने ।