काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री नियुक्त भएपछि सरकारी निवास बालुवाटार सरेकै दिन देउवाले पार्टी पदाधिकारी बैठक राखेका थिए । प्रधानमन्त्री देउवाले शुक्रबार र शनिबार बालुवाटारमा पदाधिकारी बैठक राखेपछि पार्टीभित्रैबाट पनि आलोचना भएको थियो ।
‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं,’ थापाले भने, ‘उहाँले पार्टी कार्यालय सानेपामा धर्ना भएको कारण यसपटक बालुवाटारमा बैठक राख्नु परेको हो भन्नुभएको छ । जे भए पनि अबदेखि त्यस्तो हुने छैन र गरिन्न भन्ने विश्वास दिलाउनुभएको छ ।’
कांग्रेस पार्टी कार्यालयमा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै बारा र धनुषाका नेता तथा कार्यकर्ताले विगत एक सातादेखि धर्ना दिइरहेका छन् । पार्टी कार्यालयको मुल गेटमा उनीहरू धर्नामा छन् ।
प्रम शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं।उहाँले’पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हाे,तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्न’भन्ने विश्वास दिलाउनु भएको छ।@DeubaSherbdr यो विश्वासलाई कायम राखिदिनु होला।
— Gagan Thapa (@thapagk) July 19, 2021