नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले राष्ट्रपतिसामु प्रस्तुत गरेको १४९ जनाको हस्ताक्षरलाई अस्वीकृत गर्दा ‘संविधानको उपहास’ भएको बताएका छन्।
प्रचण्डले ‘प्रधानमन्त्री नियुक्तिको प्रक्रियामा अस्वाभाविक घटनाक्रम’ भएको बताए।
राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरेर ‘सर्वोच्च अदालतको फैसलाअनुसार प्रधानमन्त्री नियुक्त गरिएको’ उल्लेख थियो।
प्रचण्डले भने, “प्रधानमन्त्री नियुक्तिको सन्दर्भमा प्रयोग भएको भाषा संविधानको मर्म र भावना विपरीत थियो।”
ओलीमाथि प्रचण्ड–प्रहार
उनले शपथ ग्रहण कार्यक्रममा केपी शर्मा ओलीको अनुपस्थितिप्रति असन्तुष्टि प्रकट गरे।
विगतमा नवनियुक्त प्रधानमन्त्री र निवर्तमान प्रधानमन्त्रीबीच कुर्सी साटासाट गर्ने प्रचलन ओलीको अनुपस्थितिमा खण्डित भएको प्रसङ्ग प्राविधिक कुरा मात्र नभएको उनको भनाइ थियो।
प्रचण्डले भने, “को भित्र लोकतान्त्रिक संस्कार छ, भिन्न मतलाई स्विकार्न सक्ने आँट कोमा छ, भिन्न परिस्थितिको सामना गर्न सक्ने आँट को सँग छ कि छैन भन्ने गम्भीर नैतिकता, संस्कार र लोकतन्त्रसँग जोडिएको प्रश्न हो भन्ने लाग्छ।”
ओलीले विगतमा पार्टीभित्रको अवस्थाले काम गर्न नपाएको बताउने गरेको प्रसङ्गमा पनि उनले असहमति जनाए।
प्रधानमन्त्रीले गत मङ्गलवार राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ लिएका थिए
प्रचण्डको प्रश्न थियो, “पार्टीको भित्रको कुरालाई लिएर संसद् भङ्ग गर्न मिल्छ?”
उनले भारतीय गुप्तचर संस्थाका प्रमुखसँग प्रधानमन्त्री निवासमा ओलीले कुराकानी गरेको विषय पनि झिकेका थिए।
उनले भने, “राष्ट्रवाद र राष्ट्रियता के भयो सबै जनतालाई थाहा छ, मध्यरातमा कोसँगको वार्तापछि कहाँबाट राजनीति कता लग्न खोजियो भन्ने कुरा नेपाली जनताले नहेरेर बसेको छ र?”
राष्ट्रपतिमाथि प्रचण्ड–प्रश्न
प्रचण्डले आफ्नो धारणा राख्ने क्रममा राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाए।
देउवाको पक्षमा १४९ जना सांसदको हस्ताक्षर लिएर राष्ट्रपति समक्ष दाबी पेस गरेको सन्दर्भ उनले प्रस्तुत गरेका थिए।
त्यस अवसरमा संविधानतः राष्ट्रपतिले कुनै बहाना गर्न सक्ने अवस्था नरहेको बताएको सुनाए।
देउवालाई नियुक्त गरेर विश्वासको मतको निम्ति सदनमा पठाइ दिन आग्रह गरेको उनको भनाइ थियो।
राष्ट्रपतिलाई भनेको कुरा उद्धृत गर्दै प्रचण्डले भने, “तपाईँले १४९ जनाको सनाखत गर्न चाहनुहुन्छ भने हामी जीवित सजीव उपस्थिति हुन पनि तयार छौँ।”
तर ‘आफूले राष्ट्रपतिमाथि विश्वास गरे पनि’ त्यसो नभएकोमा उनले राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाए। बीबीसी