मन्त्रिमण्डल बिस्तार गर्न कहाँ अड्किए देउवा ? नेपाल समूह अनिर्णित, रामचन्द्रले मागे ५ मन्त्रालय-Sutra News

मन्त्रिमण्डल बिस्तार गर्न कहाँ अड्किए देउवा ? नेपाल समूह अनिर्णित, रामचन्द्रले मागे ५ मन्त्रालय

मंगलबार, ५ साउन २०७८

मंगलबार, ५ साउन २०७८

प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा नियुक्त भएको एक साता पुगेको छ । गत असार २९ गते उनले प्रधानमन्त्रीको सपथ लिइरहँदा ४ जनाको सानो मन्त्रिमण्डल गठन गरेका थिए । संसदबाट विश्वासको मतसमेत लिइसकेका देउवाले मन्त्रिमण्डल बिस्तार गर्न सकेका छैनन् ।



देउवालाई सबैभन्दा पहिला आफ्नै पार्टीभित्रको अर्को समूहलाई व्यवस्थापन गर्न सकस परेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आफ्ना तर्फबाट मन्त्री बनाउनुपर्ने भन्दै उपप्रधानमन्त्रीसहित ५ जनाको लिस्ट बुझाएको छ । जबकी देउवाले माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेकै माधव नेपाल समूहलाई चित्त बुझाउनु पर्ने बाध्यात्मक अवस्था छ ।

कतिपय दलहरूले आफ्नो पार्टीभित्रको समस्या समाधान गर्न निश्चित संख्यामा मन्त्री चाहिने भन्दै माग गरेका छन् । माओवादी केन्द्रले अर्थ र उर्जा मन्त्रालय लिइसकेको छ । बाँकी ‘मालदार’ मन्त्रालयहरू भागबण्डा गर्दा समानुपातिक हिसाबले गर्नुपर्ने दबाबमा प्रधानमन्त्री देउवा छन् ।

आफूले सपथग्रहण गरेको दिन सानो आकारका मन्त्रिमण्डल गठन गरेका देउवाले संसदबाट विश्वासको मत पाएपछि ठूलो आकारको मन्त्रिमण्डल गठन गर्ने बताएका थिए । तर देउवाले विश्वासको मत पाएको पनि ३ दिन भइसकेको छ । उनले निरन्तर सत्तापक्षीय गठबन्धनका नेताहरूसँग छलफल गरिरहेका छन्, तर अहिलेसम्म समाधान निस्किएको छैन ।

जसपाको उपेन्द्र यादव पक्षले तीन दलबीच बराबर भागबण्डा गर्नुपर्ने माग राखेको थियो । तर महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिएको छ । ठाकुर पक्ष पनि अहिले मन्त्रीपदको आकांक्षी देखिएको हो । पहिला ओलीकै गठबन्धनमा रहने प्रतिबद्धता व्यक्त गरेका जसपाका अध्यक्ष ठाकुरले अन्तिम समयमा मन्त्री पदकै कुराकानी मिलेपछि विश्वासको मत दिएको चर्चा चलेको छ ।

जसपाका नेता डम्बर खतिवडाले शक्तिशाली मन्त्रालयहरू बराबरी भाग लगाउने बताए । ‘शक्तिशाली मन्त्रालयहरू बराबर भाग लगाउने सहमति बनेको छ,’ उनले भने, ‘तर मन्त्रिमण्डलको आकार २५ सदस्यीय भन्दा बढ्न नमिल्ने हुनाले मन्त्रालय भागबण्डामा चुनौती चाहिँ छ ।’

सरकारमा सामेल हुनेबारे एमालेको माधव नेपाल समूहले अहिलेसम्म कुनै निर्णय दिइसकेको छैन । एमालेका २२ सांसदहरूले फ्लोर क्रस गरेर देउवालाई विश्वासको मत दिएका थिए । प्रेम आले लगायतका कतिपय सांसदहरू मन्त्री पदका आकांक्षी छन् ।

‘सरकारलाई समर्थन गरेरै भएपनि प्रतिपक्षमा बस्न सकिन्छ,’ नेपालनिकट एक नेताले सूत्रन्यूजसँग भने, ‘तर परिस्थिति विशेष भएको हुनाले हामीलाई पनि सरकारमा सहभागी हुन प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ । हामीले केही दिनमा निर्णय लिन्छौं ।’

मन्त्रिमण्डल बिस्तारकै बारेमा देउवा, प्रचण्ड र नेपालबीच पटक पटक छलफल भएको छ । मंगलवार बिहान मात्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाललाई भेटेपछि प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार गएका छन् । तर अहिलेसम्म ठोस निष्कर्ष ननिस्किएको स्रोतको दाबी छ ।

नेता नेपाल समूहले कुनै निर्णय नदिएपछि मन्त्रिमण्डल बिस्तार गर्न देउवालाई तगारो तेर्सिएको हो । उता महन्थ ठाकुर पक्षलाई सामेल गराउने कि नगराउने भन्नेबारे देउवा अझै अनिर्णित छन् । ठाकुर पक्षका कतिपय सांसदहरू मन्त्री बन्न आतुर देखिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट