काठमाडाैं- कक्षा १२ को परीक्षा ३१ साउनदेखि ९ भदौसम्म सञ्चालन हुने भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले विद्यार्थीलाई भौतिक उपस्थिति गराएर परीक्षा लिने निर्णय गरेको हो ।
परीक्षा विद्यार्थीहरू पढेकै विद्यालय (होम सेन्टर) मा हुने बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए ।
‘साउन ३१ गतेदेखि परीक्षा लिने बोर्डले निर्णय गरेको छ,’ उनले भने, ‘१०० पूर्णांककै लिखित परीक्षा लिन्छौं ।’ परीक्षा भदौ ९ गतेसम्म चल्नेछ ।
कोरोना भाइरस महामारीका कारण कक्षा १२ को परीक्षा यसअघि रोकिएको थियो । जेठ अन्तिम सातादेखि गर्ने तय भएको परीक्षा दुई महिनापछि लिन लागिएको हो ।
कक्षा १२ मा परीक्षाका लागि झन्डै चार लाख विद्यार्थीले परीक्षा फारम भरेका थिए ।