काभ्रेको राधाकृष्ण प्राविका ८५ विद्यार्थीलाई पुस्तक सहयोग-Sutra News

काभ्रेको राधाकृष्ण प्राविका ८५ विद्यार्थीलाई पुस्तक सहयोग

मंगलबार, ५ साउन २०७८

मंगलबार, ५ साउन २०७८

काभ्रे- विकल्पका लागि आवाज नेपालले काभ्रेपलाञ्चोकको पाँचखालस्थित राधाकृष्ण प्राथमिक विद्यालयका ८५ विद्यार्थीलाई पुस्तक वितरण गरेको छ । नेपाली कांग्रेसका युवा नेता एवं महाधिवेशन प्रतिनिधि लिलाबल्लभ दाहाल ‘काका’ को विशेष सहयोगमा विकल्पका लागि आवाज नेपालले आज काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१० स्थित राधाकृष्ण प्राविमा अध्ययनरत ८५ विद्यार्थीलाई पुस्तक सहयोग गरेको हो ।



कार्यक्रममा नेता दाहालले मुलुकको पहिलो प्राथमिकता शिक्षा हुनुपर्ने बताउँदै गुणस्तरीय शिक्षाका लागि विद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । ‘सरकारले शिक्षाभन्दा अरु क्षेत्रमा बढी बजेट विनियोजन ग¥यो, वर्तमान सरकारले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्छ’, उनले भने ।

stu.jpg

कांग्रेस काभ्रेका नेता सुन्दरमणि आचार्यले मुलुकको विकासका लागि राज्यले शिक्षा क्षेत्रमा यथेष्ट लगानी गर्नुपर्ने बताए । विद्यालयमा दरबन्दी थप्ने कुरामा आफूले विशेष पहल गर्ने उनको भनाइ थियो । कांग्रेस काभ्रेका अर्का नेता निराजन लुईंटेलले स्थानीय सरकार र प्रदेश सरकारले शिक्षा क्षेत्रको विकासका लागि विशेष पहल गर्न आग्रह गरे ।

विसं २०६५ मा स्थापना भएको उक्त विद्यालयमा स्थायी दरबन्दी नहुँदा समस्या भएको विद्यालयका प्रधानाध्यापक गीता लुईंटेलले जानकारी दिइन् । स्थापना भएको १३ वर्षसम्ममा पनि उक्त विद्यालयमा दुई जना राहत शिक्षक र पाँच जना निजी शिक्षकबाट अध्यापन हुँदै आएको छ ।

stk.jpg

स्रोत अभावका कारण निजी शिक्षकलाई मासिक छ हजार तलब दिँदै आएको उक्त विद्यालयलाई गत वर्षदेखि वडा कार्यालयले रु दुई लाख बजेट विनियोजन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रसाद तिमल्सेनाले बताए ।

विसं २०७४ मा स्थापना भएको विकल्पका लागि आवाज नेपालले यसभन्दा पहिले ओखलढुङ्गाको नारेस्थान सामुदायिक पुस्तकालय र माम्खा सामुदायिक पुस्तकालय निर्माण गरेर शिक्षा क्षेत्रको विकासमा सहयोग गर्दै आएको उक्त संस्थाका अध्यक्ष युवराज तिमल्सेनाले जानकारी दिए ।

यस्तै उक्त संस्थाले बाढीपहिरो पीडित र हावाहुरी पीडितलाई सहयोग गरेको छ । विकल्पका लागि आवाज नेपालका महासचिव मदन ढुङ्गानाले आफ्नो संस्थाले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने वचनबद्धता व्यक्त गरे ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट