काठमाडौं- नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।
दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टी संगठनलगायत विषयमा छलफल हुने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए ।
उनकाअनुसार बैठकमा सरकारमा जाने मन्त्रीका विषयमा पनि छलफल गरिने छ । अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर सरकार सञ्चालनको साझा कार्यक्रम बनाएर जाने विषयमा छलफल गरेका थिए ।
प्रधानमन्त्री देउवासँग भएको छलफल र छलफलका क्रममा भएका प्रगतिका विषयमा पनि बैठकमा अध्यक्ष प्रचण्डले जानकारी गराउने छन् ।
शेरबहादुर देउवा नेतृत्वको सरकारका हाल माओवादी केन्द्रका दुई जना मात्र मन्त्री छन् । सरकारमा पम्फा भुसाल ऊर्जा मन्त्री र जनार्दन शर्मा अर्थमन्त्री छन् ।
माओवादी केन्द्रबाट सरकारमा कति जना जाने भन्ने टुंगो लागि सकेको छैन ।