पुग्ला त नेपालको पक्षमा संसदीय दलमा बहुमत ? यस्तो छ अंकगणित-Sutra News

पुग्ला त नेपालको पक्षमा संसदीय दलमा बहुमत ? यस्तो छ अंकगणित

बुधबार, ६ साउन २०७८

बुधबार, ६ साउन २०७८

पुस ५ गते प्रतिनिधि सभा विघटन हुनुअघि तत्कालीन नेकपा, हालको एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा ४० सांसद थिए । तर त्यसपछि कतिपय सांसदहरू ओलीतिर लागे ।



जेठ ७ गतेको मध्यरातिमा प्रतिनिधि सभाको दोस्रोपटक विघटन भएपछि नेपाल पक्षका जम्मा २३ जना सांसदहरूले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गर्दै सर्वोच्चमा रिट दायर गरे । यसबीचमा नेता नेपालका पक्षबाट १७ सांसद निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीतिर चिप्लिएका थिए ।

तर प्रधानमन्त्री देउवाले साउन ३ गते विश्वासको मत लिँदा परिस्थितिले कोल्टे फेर्यो । रिटमा हस्ताक्षर गरेकामध्ये ७ जनाले देउवालाई भोट दिएनन् । तर ८ जना ओली पक्षका सांसदले अनपेक्षित रूपमा देउवालाई विश्वासको मत हाले ।

यससँगै नेता नेपालको पक्षमा एमालेको शक्ति सन्तुलन देखिएको छ । देउवालाई विश्वासको मत नदिएका योगेश भट्टराई, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरू ओलीतिर लागिसकेका छैनन् । तर ओलीको पक्षमा खुलेरै लागेका प्रेम आले लगायतका ८ जनाले देउवालाई विश्वासको मत दिएपछि नेपालको पक्षमा लाग्ने सांसदको संख्या बढेको अनुमान गरिएको छ ।

पार्टीको निर्णयविपरित तनहुँका सांसद किसान श्रेष्ठले नेता नेपाललाई संसदीय दलमा बहुमत पुर्याउन प्रयास गर्नुपर्ने र त्यसका लागि १५/१६ सांसदलाई आफूले फकाउने बताइसकेका छन् ।

संसदमा एमालेको जम्मा संख्या १ सय २१ छ । बहुमतका लागि ६१ सांसद चाहिन्छ । यदि नेपालले बहुमत जुटाए भने उनी संसदीय दलको नेतामा चयन हुनेछन् ।

तर अहिले आफूलाई साथ दिएका सांसदको झन्डै दोब्बर संख्या जुटाउन नेता नेपाललाई अप्ठेरो छ । ओलीनिकट कतिपय सांसदहरू अन्तिमसम्म ओलीलाई नै साथ दिने मूडमा देखिन्छन् । ८ सांसद जुटाउन पहल गरेका प्रेम आलेले थप केही सांसद जुटाउने हो र श्रेष्ठले १५/१६ जना सांसद जुटाएमा बहुमत असम्भव भने देखिन्न ।

नेता नेपाललाई ढाडस दिएका सांसदहरूको संख्या बढेको देखेर उनी हौसिएका छन् । केन्द्रीय कमिटीमा लगभग सुविधाजनक रहेका नेता नेपाल पदाधिकारीमा बहुमतमा छन् ।

कानूनी व्यवस्थाअनुसार संसदीय दल र केन्द्रीय कमिटीमा ४० प्रतिशत पुर्याउन सके पार्टी विभाजन गर्न सकिन्छ । तर नेताहरूमा सूर्य चिह्न र एमाले नामको मोह कायमै छ । त्यसैले नेता नेपालले संसदीय दलमा बहुमत पुर्याउने बाटोलाई अलिक सहज ढंगबाट लिएका छन् ।

ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकले देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टिकरण सोधेको छ । तर त्यो कारवाहीकै चरणमा भने पुग्ने देखिन्न । सर्वोच्च अदालतले फ्लोर क्रस गरेकै आधारमा गरिएको कारवाही मान्य नहुने फैसला गरिसकेको छ ।

आफूनिकट कतिपय प्रभावशाली नेताहरूले देउवाको विपक्षमा भोट हाल्न गरेको आग्रहलाई नेता नेपालले टेरपुच्छर लगाएनन । बरू एक्लै देउवालाई भोट दिने बताएपछि योगेश भट्टराई, भीम रावल जस्ता नेताहरू बिच्किएका छन् । तर यदि नेपालको पक्षमा बहुमत पुग्ने अवस्थामा उनीहरूले ओलीलाई नै साथ दिने अपेक्षा भने गर्न सकिन्न ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट