काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक जीवन र कम्युनिस्ट आन्दोलन जोगाउनुपर्नेमा जोड दिँदै असन्तुष्ट पक्षलाई एकतामा आउन आग्रह गरेका छन् ।
केन्द्रीय कमिटीको जारी १० पूर्ण बैठकको तेस्रो दिन आज अध्यक्ष ओलीले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास आफू तत्पर रहेको स्पष्ट गरे ।
सर्वोच्च अदालतको गत असार २८ गतेको फैसला संसदीय व्यवस्थानुकूल नभएको टिप्पणी गर्दै जनताको चाहनालाई कुच्चेर केही नेताले गद्दारी गरेकाले आफ्नो नेतृत्वको सरकार ढलेको बताए ।
‘मसँग अब अरु आग्रह छैन । म एकताको मोही अझै मथ्दै छु । सकभर सत्ता गठबन्धनमा लागेका सबै पार्टीका नेतालाई आफ्नो राजनीतिक जीवन बचाउन आन्दोलन बचाउन अनुरोध गर्छु’, अध्यक्ष ओलीले बैठकमा भने ।
पार्टीको नीतिविपरीत नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने नेता माधव नेपालसहित २२ सांसद्लाई स्पष्टीकरण सोधेको एमालेले त्यसबारे जवाफ आएपछि निर्णय गर्ने एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।