पशुपतिमा जलहरी लगाउँदा ११ किलो सुन गायब पारिएको उजुरी, कागजपत्र अख्तियारको नियन्त्रणमा-Sutra News

पशुपतिमा जलहरी लगाउँदा ११ किलो सुन गायब पारिएको उजुरी, कागजपत्र अख्तियारको नियन्त्रणमा

बिहिबार, ७ साउन २०७८

बिहिबार, ७ साउन २०७८

पशुपति मन्दिरमा सुनको जलहरी लगाउँदा अनियमितता भएको आशंकामा अख्तियारले छानबिन शुरू गरेको छ ।



८० करोडको खर्चमा गत वर्ष शिवरात्रीमा १०८ किलोको सुनको जलहरी लगाइएको थियो । तर मन्दिरका एक भण्डारीले जम्मा ९७ किलो मात्र सुन राखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका थिए ।

उनले गोप्य उजुरी हालेपछि अख्तियारले छानबिन शुरू गरेको हो ।

अख्तियार स्रोतले गत साता कागजात बरामद गरिएको पुष्टि गर्यो । ‘कम मात्रामा सुन राखिएको भन्दै हामीकहाँ उजुरी आएको थियो,’ स्रोतले भन्यो, ‘त्यसैको छानबिन गर्न हामीले त्यससम्बन्धी कागजात लिएर आएका छौँ । अनियमितता भएको छ कि छैन भन्ने छानबिनपछि मात्र पत्ता लाग्छ ।’

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले अख्तियारले कागजात लिएर गएको स्वीकारे ।

ढकालले सूत्रन्यूजसँग भने – ‘जलहरीसम्बन्धी उजुरी परेपछि अख्तियारले कागजात लिएर गएको छ । तर त्यहाँ कुनै अनियमितता भएको थिएन । शुरूमा पेटी लगाइएको थियो । मुख्य जलहरी अब साइत हेरेर लगाउने हो । त्यसैले त्यहाँ अनियमितता भएकोमा सत्यता छैन ।’

२०७० सालमै पशुपतिमा जलहरी लगाउने निर्णय पशुपति क्षेत्र विकास कोषले निर्णय गरेको थियो । तर त्यो निर्णय विवादित भयो । गत माघ ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति गएर जलहरी लगाउन सरकारले ३० करोड अनुदान दिने घोषणा गरेका थिए ।

ओलीले घोषणा गरेपछि जलहरीको काम अघि बढ्यो । त्यसपछि शिवरात्रीमा जलहरी लगाउने काम उद्घाटन भयो । तर सोही दिनमै सर्वोच्च अदालतले जलहरी नलगाउन अन्तरिम आदेश दिएको थियो ।

अदालतको आदेशलाई वेवास्ता गर्दै जलहरी लगाइयो । तर अझै काम सम्पन्न भएको छैन ।

‘जलाहरीमा किला ठोकेर मिलाउन अझै बाँकी नै छ,’ कोषका सदस्यसचिव डा. ढकालले भने, ‘यसअघि पाता र पेटीहरू राखिएको हो । अख्तियारले जलहरी पनि उप्काएर लगेको छ भनेर हल्ला चलाइएको छ । त्यसो होइन, त्यस्तो पवित्र ठाउँमा कसैले छुन सक्दैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट