काठमाडौं- निर्वाचन आयोगले सनाखतका लागि स्वयं उपस्थित हुन जसपाको कार्यकारिणी समिति सदस्यलाई अनुरोध गरेको छ । आयोगको यस अनुरोधलाई जसपा अध्यक्ष डा.बाबुराम भट्टराईले स्वागत गरेका छन् ।
आयोगको निर्णयलगत्तै बिहीबार साँझ अध्यक्ष डा.भट्टराईले स्वागत गरेका हुन् ।
उनले भने, ‘जसपालाई वैकल्पिक राजनीतिक शक्तिको रूपमा एकताबद्ध गर्दै नयाँ र विधिसम्मत ढंगले अगाडि बढाउने दिशामा निर्वाचन आयोगको सही निर्णय ! धन्यवाद !’
जसपाको विवाद निरुपणका लागि आयोगले गठन गरेको इजलासले दल एकीकरण हुँदाका बखत प्रस्तुत भएका कागजातसहित उपस्थित हुन आग्रह गरेको हो ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार जसपाको विवाद निरुपणका लागि आयोगले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपिसहित साउन ११ गते बिहान ११ बजे आयोगमा उपस्थिन हुन आग्रह गरेको छ ।