काठमाडौं- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले हिजो राजतन्त्र, सामान्तवाद तथा धार्मिक/सांस्कृतिक रूढिवादविरुद्ध संघर्ष गर्दा जेलनेल भोगका नेताहरूसमेत सत्ता लोभमा उल्टो बाटोमा हिँड्न थालेको टिप्पणी गरेका छन् ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष समेत रहेका डा.भट्टराई भन्छन्, ‘बाघ बूढो भए पनि घाँस खाँदैन रे ! तर हिजो निरंकुश राजतन्त्र, सामन्तवाद, धार्मिक/सांस्कृतिक रूढिवादविरूद्ध संघर्ष गरेर जेलनेल भोगेका नेताहरू आज चुनावी लाभ र सत्ताको लोभ निम्ति रूढिवादी विचारका बाहक बन्नु, धार्मिक कट्टरपन्थतर्फ लहसिनु, महिला/दलितमाथिका विभेदबारे चुँ नगर्नु कस्तो विडबना !’
केही दिन अघि भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नदीमा दूध चढाएकोमा डा.भट्टराईले आलोचनात्क टिप्पणी गरेका थिए । ‘यस्तो काम भनेको दूधलाई त्यसै फ्याँकेर पिसाब पिएजस्तो हो,’ डा.भट्टराईले भनेका थिए । बाबुरामको यस भनाइलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । यसकै जवाफ डा.भट्टराईले घुमाउराे रुपमा दिएका हुन् ।
राप्रपाका अध्यक्ष कमल थापाले समेत आपत्ति जनाएका थिए भने हिन्दु धर्मको अपमान भएको भन्दै देशका केही ठाउँमा डा.भट्टराईको पुतला दहन समेत गरिएको छ ।