विश्व खेलकूदको कुम्भमेला ३२औँ ग्रीष्मकालीन ओलम्पिकको औपचारिक रुपमा उद्घाटन आज हुँदैछ ।
जापानको राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमबीच ओलम्पिकको अपराह्न ४ः४५ मिनेटमा उद्घाटन हुनेछ । उद्घाटन आज हुन लागेको भए पनि केही खेलको प्रतिस्पर्धा भने बुधबारदेखि नै शुरु भइसकेको छ ।
ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारी टोकियो पुगिसकेका छन् । नेपालबाट पाँच खेलाडी र चार प्रशिक्षकसहित २३ सदस्यीय टोली टोकियो पुगिसकेको छ ।
उद्घाटन समारोहको मार्चपासमा नेपालको झण्डा पौडीकी कीर्तिमानी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर (एलेक्स) शाहले बोक्नेछन् । सन् २०२० मा आयोजना हुने मिति तय भएको ओलम्पिक कोरोना भाइरसको महामारीका कारण एक वर्ष ढिला हुन लागेको हो । दर्शकको उपस्थितिबिना प्रतियोगिता सञ्चालन हुन गइरहेको छ ।
सुटिङकी कल्पनाले शनिबार बिहान प्रतिस्पर्धा गर्ने नेपालबाट टोकियो ओलम्पिकमा सहभागी पाँच खेलाडीमध्ये सुटिङकी कल्पना परियारले शनिबार बिहान प्रतिस्पर्धा गर्ने भएकी छन् । परियारले महिला १० मिटर एयर राइफलमा गर्नेछन् । उनले एक साताअघि नै जापान पुगेर अभ्यास थाल्नुभएको थियो । परियारको खेल बिहान ५ः१५ बजे शुरु हुनेछ ।
टोकियो ओलम्पिकमा पौडीबाट गौरिका, एलेक्स शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्नेछिन् । सिंहले दोस्रो पटक ओलम्पिक खेल्न लागेकी हुन् भने अन्य चार खेलाडी पहिलोपटक ओलम्पिकमा सहभागी भएका छन् ।
पौडीकी गौरिकाले पहिलोपटक सन् २०१६ मा रियो ओलम्पिकमा सहभागिता जनाएकी थिइन् ।