राजीनामा दिएर ‘स्टन्ट’ देखाएका रावल फतक्क गले, आज फिर्ता गर्ने-Sutra News

राजीनामा दिएर ‘स्टन्ट’ देखाएका रावल फतक्क गले, आज फिर्ता गर्ने

शुक्रबार, ८ साउन २०७८

शुक्रबार, ८ साउन २०७८

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अस्ति ३ गते सांसद पदबाट दिएको राजीनामा फिर्ता गर्ने भएका छन् । शुक्रवार (आज) बस्ने प्रतिनिधि सभा बैठकअघि उनले राजीनामा फिर्ता लिने उनीनिकट स्रोतले जानकारी दियो ।



राजीनामा दिने निर्णय गरेको केही दिनमै उनले फिर्ता गर्न लागेका हुन् । माधवकुमार नेपाल समूहमा रहेका उनले अध्यक्ष केपी शर्मा ओलीसँगको कुराकानीपछि गलेको अनुमान भइरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने/नदिनेबारे आफ्ना नेता माधवकुमार नेपालसँग कुरा नमिलेपछि उनले आवेशमा आएर सांसद पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

संसद सचिवालयमा राजीनामा बुझाउन गएका रावललाई अन्य सांसदहरूले अवरोध गरेपछि उनले सिधै बानेश्वरस्थित संसद भवनमा पुगेर सभामुखलाई राजीनामा बुझाएका हुन् ।

उनको राजीनामा अझैसम्म विचाराधीन छ । यसअघि रावललाई राजीनामा फिर्ता लिन आग्रह गर्दै एमालेकै कतिपय सांसदहरूले दबाब दिएका थिए । ओलीसमेतले उनलाई राजीनामा फिर्ता गर्न आग्रह गरेको चर्चा चलेको थियो । 

यद्यपि संसद सचिवालयले भने अहिलेसम्म राजीनामा फिर्ता लिनेबारे कुनै जानकारी नआएको दाबी गरेको छ । राजीनामा गरिसकेका कारण आज बस्ने संसद बैठकमा उनी सहभागी हुन पाउने या नपाउने भन्ने निधो भएको छैन । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट